
एजेन्सी। प्रसिद्ध विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाले सेप्टेम्बर महिनामा मात्रै ५६ हजार भन्दा बढी गाडी बिक्री गरेको छ। चीनको सांघाईमा सवारी साधन उत्पादन गर्न थालेपछि यो सङ्ख्या सबैभन्दा धेरै हो र यो कम्पनीको लागि एउटा रेकर्ड पनि हो।
अघिल्लो महिना अर्थात् सेप्टेम्बरमा चीनमा यात्री कारको बिक्री एक वर्ष अघिको तुलनामा १७ प्रतिशत घट्दा पनि टेस्लाले भने नयाँ रेकर्ड बनाएको हो। सो कम्पनीले अगस्तमा समेत ४४,२४६ वटा चीनमा निर्मित सवारी साधनहरू बिक्री गरेको थियो। चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्याङ्कमा यस्तो देखिएको हो।
तथ्याङ्कका अनुसार ती मध्ये ३१,३९७ वटा कार निर्यात गरिएको थियो।यसले के देखाउँछ भने टेस्लाले चिनियाँ बजारमा भने राम्रो पकड जन्माउन अझै सकेको छैन। गएको जुलाई महिनामा चीनको कम्युनिस्ट पार्टीसँग टेस्लाको विवाद चर्किएपछि चिनियाँ बजारमा जम्न टेस्लालाई समय लाग्ने देखिएको छ। त्यसो त टेस्लाका मालिक एलन मक्सले आफू चिनियाँ कम्युनिस्ट पार्टीको हरेक सर्त मान्न तयार रहेको जनाइसकेका छन्।
अहिले चीनमा टेस्लाले मुख्य प्रतिस्पर्धीका रूपमा नियो र जेपिंगसंग बजार कब्जामा जुध्नु परिरहेको छ। सेप्टेम्बरमा १० हजारभन्दा बढी गाडीहरू नियो र जेपिंगले बिक्री गरेका छन्। उता भोक्सवैगनले पनि सेप्टेम्बरमा १० हजार भन्दा बढी आईडी सिरिजका ईभी बेचेको छ।
प्रतिक्रिया दिनुहोस