aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बर्षाले किसानको वर्ष दिनको खानेकुराको जोहोमा बज्रपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
बर्षाले किसानको वर्ष दिनको खानेकुराको जोहोमा बज्रपात

काठमाडौं । तीन दिन देखिको अविरल बर्षाले नेपाली किसानको जनजीवनमा अकल्पनिय संकट थपिएको छ । नेपालको मुख्य अन्नबाली धान खेति भित्र्याउने समयमा भएको अनपेक्षीत बर्षाले किसानको बर्ष दिनको खानेकुराको जोहोमा बज्रपात परेको खाद्यका लागि कृषि अभियानले जनाएको छ । अभियानले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बाढी र पहिरोले मानिस र बस्तुभाउको ज्यान गएको छ भने धेरै मानव बस्ती, बस्तुभाउ र खेतबारी समेत जोखिममा परेका छन् । नदीहरुको सतह खतरा तहभन्दा माथी छ । बर्षा अझै रोकिने छाँट छैन । अझै यो क्षति कति हुन्छ थाहा छैन ’

यो अनपेक्षित बर्षाले किसानको बिचल्ली भएको अभियानको ठम्याइ रहेको छ । सानाठूला सबै किसानको जीविकाको मुख्य आधार धान खेती तहस नहस भएको छ । पाकेको धानमा बाढी पसेको छ भने काटेको धान खेत आलीमै डुबेको छ । सगै, धान खेतीको मुख्य क्षेत्रमानै भएको डुबानले कृषिमा आधारित हाम्रो अर्थतन्त्र समेत प्रभावित भएको छ ।

प्रकृतिमा आउने यस्ता फेरबदलका कारण खेतीपाती उत्पादन प्रकृयाका हिसाबले अनिश्चय र ठूलो जोखिमको क्षेत्र  हो । सरकार र यसका सरोकारवालाहरुले यो प्रकृतिको व्यवहारलाई पूर्वानुमान गरि किसानलाई जोखिमहरु घटाउन यथाशीघ्र भरथेक गर्ने कुरामा बेवास्ता गर्दा विगत केहि वर्षदेखि यस्तो जोखिम झन बढ्दै गएको अभियानले बताएको छ । यसले हाम्रो जस्तो किसानीमा आधारित जीवनपद्धती नै संकटग्रस्त बन्दैछ अभियानको भनाइ छ।

प्रतिक्रिया दिनुहोस