
काठमाडौं । अपि पावर कम्पनी लिमिटेड. नेपाल फाइनान्स लिमिटेड र हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३९ कोअनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता र नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन । अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएको बोर्डले जानकारी दिएको हो ।
नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । नेपाल फाइनान्सको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै अपि पावर कम्पनीले यस वर्ष वितरण गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा उक्त अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
अपि पावर कम्पनीले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस