
एजेन्सी। बलिउड अभिनेता शाहरुख कानका छोरा आर्यनसँगको ह्वाट्सएप च्याटका कारण मुम्बई क्रुज ड्रग्स केसमा जाँचको दायरामा तानिएकी बलिउड नायिका तथा चंकी पाण्डे पुत्री अनन्या पाण्डेलाई आज शुक्रवार पनि भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले बयान लिने भएको छ। बिहीबार उनलाई सवा दुई घण्टा सोधपुछपछि एनसीबीले उनलाई पुनः शुक्रवार पनि बोलाएको हो।
अनन्या बिहीबार तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बेलुकी ४ बजे एनसीबी अफिस पुगेकी थिइन् र करिब ६ बजेर १५ मिनेटमा आफ्ना पिता चंकी पाण्डे र वकिलसँग एनसीबीको कार्यालयबाट बाहिर निस्किएकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार २३ वर्षीय अनन्याको कुल सम्पत्ति ७२ करोड छ। यदि ड्रग्स केसमा उनको संलग्नता पुष्टि भयो भने उनले पनि आर्यन झैँ हिरासतमा बस्नुपर्ने अवस्था आउन सक्छ। यदि त्यस्तो भयो भने २३ वर्षिया यी नायिका पनि आर्यन झैँ जेलको खाना खान बाध्य बन्नु पर्ने भएको छ। स्मरण रहोस्, हालै जेलमा भेट्न आएका पिता शाहरुख खानसँग छोरा आर्यनले जेलको खाना मिठो नभएको गुनासो गरेको समाचार सार्वजनिक भएको थियो।
अनन्याले अहिलेसम्म तीन वटा मात्र फिल्ममा काम गरिसकेकी छिन्। 'स्टुडेन्ट अफ द इयर २' बाट डेब्यू गरेपछि अनन्या कार्तिक आर्यन, भूमि पेडनेकरको साथ फिल्म 'पति पत्नी और वो २' मा देखिएकी थिइन्। यस पछि, २०२० मा, ईशान खट्टरसंग उनको फिल्म 'खली पिली' रिलिज भयो।
अनन्याका यी तीनै फिल्म बक्स अफिसमा फ्लप भएका छन्। अनन्याको आगामी फिल्महरूको बारेमा कुरा गर्दै, उनी निर्देशक शकुन बत्राको शीर्षक रहित रोमान्टिक ड्रामा फिल्म मा देखिनेछिन्। यस फिल्म बाहेक अनन्या साउथ स्टार विजय देवरकोंडासँग फिल्म 'लाइगर' मा देखिनेछिन्। हालै अनन्याले अर्को फिल्म साइन गरे जसको नाम हो 'खो गये हम कहां'।
अनन्यासँग आज आर्यनसँगको ह्वाट्सएप च्याट देखाएर प्रश्न सोध्न सकिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । एनसीबी आर्यन खान र अनन्या पाण्डेको च्याटको अनुसन्धान गरिरहेको छ । उनीहरूका विद्युतीय उपकरण पनि जफत गरिएका छन् । स्मरण रहोस्, एनसीबीले बिहिबार मुम्बईको बान्द्रा इलाकास्थित अनन्या पाण्डेको घरमा छापामार गरेको थियो । उक्त छापामार अनन्याको पाली हिलमा अवस्थित फ्ल्याटमा गरिएको थियो । छापा पछि अनन्यालाई सोधपुछका लागि बोलाइएको थियो । एनसीबीका अधिकारीले उनीहरूको घरबाट एउटा ल्यापटप, फोन र अन्य विद्युतीय उपकरण जफत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस