aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

  • रासस
    रासस
  • शनिबार, ०६ कार्तिक २०७८
पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर रानाले बताए ।

अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उहाँको भनाइ थियो  । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ ।

जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउथे। उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी भएका उनी छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउछन ।

स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले विसं २०७६ देखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गर्नुभएको र  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोगमा यहाँबाट चिज तथा छुर्पी उद्योगमा दूधजन्य परिकार उत्पादन हुँदै आएको छ । 

छुर्पी उद्योगका सञ्चालक खरालले भने, “पहिला–पहिला दूध बिक्री गर्न समस्या हुँदै आएको थियो । दूध बिक्री हुन छाडेपछि आफैँले दूध बोकेर फिर्ता ल्याउनुपर्ने बाध्यता थियो ।” त्यसपछि दूध डेरी सञ्चालन गरी ताजा र स्वच्छ दूध खुवाउन थालिएको उहाँको जिकिर थियो  । खरालले स्थानीयस्तरमा दूधको खपत हुँदा राम्रो मूल्य पाउने भएकाले दूधको विविधिकरण गर्न सुरुआत गरेका हुन ।

 उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ । दूधलाई प्रशोधन गरी छुर्पी उत्पादन गरिन्छ । यहाँबाट दैनिक ५५ हजार छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दूध, दही र पनिरबाट बाँकी रहेको दूधबाट  छुर्पी उत्पादन गरी किसानलाई मिल्क होलीडेबाट बञ्चित गराउने गरिएको सञ्चालक खरालले बताए।

दूधको विविधिकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा  २० भन्दा बढी युवाले रोजगारी पाएका छन् । उक्त उद्योगले न्यूनतम रु १३ हजारदेखि २७ हजारसम्म आम्दानी गर्न सफल बनेको जिल्ला भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ छहराका नारायणबहादुर रायमाझी सन् २०१३ मा विदेशबाट फर्किएका हुन ।स्वदेश फर्केपछि लाम्रो समय बेरोजगार हुनुभएका उहाँ जिल्लाभित्रै छुर्पी उद्योगमा काम पाएका छन । स्वदेशमै काम पाएपछि रायमाझीले विदेश फर्किने मन गर्नुभएको छैन । उक्त उद्योगमा उनीझै विदेशबाट फर्केका अन्य युवाले पनि रोजगारी पाएका छन् । उनीहरुले  आफूलाई स्थानीयस्तरमै रोजगारी पाएपछि खुसी लागेको बताए । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भएको छ । पाल्पाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस