aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बाटो प्रभावित हुँदा तरकारीको मूल्य ह्वात्तै बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
बाटो प्रभावित हुँदा तरकारीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । देशको अधिकांश भागमा आएको बाढीले गर्दा ताजा तरकारीको मुल्य आकासिएको छ । तरकारी उत्पादनमा क्षतिसँगै ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाडौंका बजारमा पाइने ताजा तरकारीको मूल्य वृद्धि भएको छ ।

कालिमाटी फलफूल तथा  तरकारी बजार विकास समितिका उपनिर्देशक बिनय श्रेष्ठले भारी बर्षात् भएपछि तरकारीको भाउमा असर परेको बताए । बर्षात् बढेपछि आयात नै कम भयो, जसको असर मूल्यमा परेको देखिन्छ  । उनले भने–“सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक औषत सात सय टन तरकारी आउने गर्छ । तर, बर्षातका कारण शुक्रबार र शनिबार आयात निक्कै घटेको र अहिले विस्तारै आयात बढिरहेको छ, जसले गर्दा केहि दिनमा मुल्यमा सुधार आउने छ ।”

शुक्रबार कालिमाटी बजारमा ४ सय ६० टन र शनिबार ५ सय ४० टन तरकारी भित्रिएको थियो  । यो आयात सामान्य अवस्थाको भन्दा कम हो, उनले भने । तर, आइतबारबाट आयात बिस्तारै बढ्दै गएको छ । आइतबार आठ सय ७३ टन तरकारी भित्रिएको छ । सोमबार ८ सय २० टन तरकारी भित्रिएको छ  भने मंगलबार बिहान १०ः३० बजेसम्म ४ सय ७० टन जति तरकारी आयात भएको उपनिर्देशक श्रेष्ठ बताए । 

हाल मूल्य वृद्धि भएका सबै तरकारी आन्तरिक उत्पादन भएको कालिमाटी बजारले जनाएको छ । सर्लाहीको लालबन्दीबाट आउने सिमी, फर्सी, लौका, काँक्रोलगायतको मूल्य पनि आकासिएको छ । हाल काठमाडौं उपत्यका आसपासका जिल्ला काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरको उत्पादन धेरै आइरहेको व्यवसायीले जानकारी दिएका छन् । 

बजार मागअनुसार आपूर्ती कम भएपछि मूल्य बढेको हो । सबैभन्दा बढी चमसुरको साग र हरियो खुर्सानीको भाउ बढेको छ । एक साताअघि (२४ असार) ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी मंगलबार कालिमाटी बजारमा औषत १ सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यस्तै चमसुरको साग ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय ४० रुपैयाँ पुगको छ । यो ८६.६७ प्रतिशतले मूल्यवृद्धि हो ।

एक साताअघि ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडाको मूल्य ९५ प्रतिशतसम्म वृद्धि भएर  १२५ रुपैयाँ पुगेको छ । त्यसैगरी काक्रो ८५ रुपैयाँबाट मूल्य बढेरे १ सय १५ रुपैयाँ पुगेको छ । भने धनियाँको मूल्य एक साता अघि २ सय ३५ रहेको थियो भने आज २९० मा बिक्रि भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस