
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा बीमा कम्पनीहरुले उल्लेख्य मात्रामा बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । जुन गत वर्षको भन्दा २०.११ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा कम्पनीः कुनले कति बीमाशुल्क आर्जन गरे ?
चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको सोहि अवधिको तुलनामा बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले बजार विस्तार गर्न सफल भएका छन् ।
बीमा समितिका अनुसार सबैभन्दा धेरै नेपाल लाइफले बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा नेपाल लाइफले ९ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । यस कम्पनीले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले एक अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, धेरै बीमा शुल्क आर्जन गर्नेको चौथो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालू आर्थिक वर्षको तीन महिनामा ३ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरि, धेरै बीमाशुल्क आर्जन गर्नेको पाँचौ नम्बरमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यस कम्पनीले चालू आर्थिक वर्षको तीन महिनामा एक अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले ५६ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
बीमा समितिका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा एशियन लाइफ इन्स्योरेन्सले एक अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा मेट लाइफ इन्स्योरेन्सले एक अर्ब २९ करोड, सुर्या लाइफ इन्स्योरेन्सले एक अर्ब १४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १८ करोड, गुराँस लाइफ इन्स्योरेन्सले ८७ करोड १९ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब २७ करोड, ज्योति लाइफ इन्स्योरेन्सले ८० करोड ७५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ९७ करोड १० लाख, रिलायन्स लाइफ इन्स्योरेन्सले ७९ करोड ९७ लाख, आइएमई लाइफ इन्स्योरेन्सले ८० करोड ७२ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले ९२ करोड ३१ लाख, सानिमा लाइफ इन्स्योरेन्सले ५५ करोड ९२ लाख, प्रभु लाइफ इन्स्योरेन्सले ५७ करोड ७१ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३३ करोड ६३ लाख बीमाशुल्क आर्जन गरेका छन् ।
निर्जीवन बीमा कम्पनीः कुनले कति बीमाशुल्क आर्जन गरे ?
चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले २७.८८ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । गत वर्षको यहि अवधिमा ७ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेका थिए ।
चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले ९० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
बीमा समितिका अनुसार तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ८१ करोड २१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै, चौथो नम्बरमा रहेको सिद्धार्थ इन्स्योरेन्सले ६९ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्स ४४ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यसैगरि, प्रभु इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, आइएमई जनरलले ३७ करोड रुपैयाँ, लुम्बिनी जनरलले ३६ करोड रुपैयाँ, दि ओरियन्टलले ३६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस