aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सामलिङ्ग पावर कम्पनीको आईपीओ अन्तिम दिनसम्म करिब २३ लाखले भरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
सामलिङ्ग पावर कम्पनीको आईपीओ अन्तिम दिनसम्म करिब २३ लाखले भरे

काठमाडौं । कात्तिक ४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिन सोमवारसम्म २२ लाख ६५ हजार ६९८ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट सोमवार साझ ५ बजेसम्म २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको हो । जुन आवेदन मागभन्दा ३९ दशमलव ६७ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयरमध्य २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

 सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गरिसकेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन सुरु गरिसकेको छ । 

उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ । कम्पनीको तत्काल जारी पूँजी पनि रू. ५० करोडनै रहेको छ । हाल संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

 यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक वित्तीय अवस्था अनुसार उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । 

आर्थिक वर्ष ०७७÷७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २७ ऋणात्मक छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि तीन गुणासम्म रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस