
काठमाडौं । विद्युत नियमन आयोगले विद्युत खपत बढाउनका लागि नयाँ नियम ल्याएको छ । आयोगले सोमबार गरेको निर्णयमा विद्युत खपतसँग सम्बन्धित विभिन्न नियमहरू परिवर्तन गरेको हो ।
आयोगका सञ्चालक डा. रामप्रसाद धितालका अनुसार आयोगले विद्युत खपत बढाउनका लागि २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क गर्ने निर्णय गरेको छ । उनले भने, ‘नेपालमा विद्युत उत्पादन बढिरहेका बेला विद्युत खपत गराउनका लागि विद्युतसँग सम्बन्धित पुराना केही मापदण्डहरू परिवर्तन गरेका छौँ । यसअघि विभिन्न ९ वटा घरायसी स्ल्याब मार्फत विद्युतको महसुल विद्युत प्राधिकरणले उठाउँदै गरेकोमा यो स्ल्याब अब ६ वटामा झारिएको छ ।’
त्यस्तै, विद्युत महसुल एक रुपैयाँ घटाउने समेत निर्णय गरेको धितालले जानकारी दिए । यसअघि प्रति युनिट १२ रुपैयाँ शुल्क लिँदै आएको प्राधिकरणले अब नयाँ नियम अनुसार प्रति युनिट ११ रुपैयाँ मात्र लिन पाउने भएको छ । थ्रिफेज लाइन लिएर विद्युत खपत गर्नेहरूका लागि पनि दुई प्रकारको रेट निर्धारण गरिएको उनले बताए । जसमा हिउँद र बर्खाको फरक फरक रेट रहेको छ । यसमा एक रुपैयाँको फरक रहेको छ । हिउँदमा लागि प्रतियुनिट ११ रुपैयाँ १० पैसा र बर्खाका लागि ११ रुपैयाँ १० पैसा रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरि, आयोगले सिँचाइ प्रयोजनका लागि खपत हुने विद्युतमा ८० प्रतिशतसम्म शुल्क घटाएको छ । उद्योगीहरूको हकमा पुरानै शुल्क यथावत् राखिएको छ ।
जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने बताउँदै आएकी थिइन् । विद्युत प्राधिकरणले पनि यसअघि १० युनिटसम्मको खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउँदै आएको थियो । आयोगको यो निर्णयपछि सोही १० युनिटलाई बढाएर २० युनिटसम्म निःशुल्क हुने भएको हो । तर, विद्युत मिटर जडान गर्ने प्रत्येक घरले मिटर रिडिङ बापत ३० रुपैयाँ शुल्क भने लाग्ने विद्युत प्राधिकरणको भनाई छ ।
प्रतिक्रिया दिनुहोस