
काठमाडौं । विश्वव्यापीरुपमा चर्किएको उर्जा संकटको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विशेषगरि खनिज तेल, कोइला र ग्यासको मूल्यवृद्धि तथा कोइला र ग्यासको अभावका कारण नेपालका महत्त्वपूर्ण उद्योगसहित समग्र अर्थतन्त्र नै यसको चपेटामा पर्ने देखिँदै छ ।
केही समय भित्रै अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको मूल्य एक सय डलर प्रतिव्यारेल पुग्ने अनुमान सार्वजनिक भइरहेका छन् । यसरी हेर्दा नेपाल जस्तो आयातमा सर्वाधिक ठूलो हिस्सा खनिज तेल र ग्यासको भएको मुलुकले मुलुकलाई ठूलो व्ययभार थपिन सक्छ । उता जैविक ग्यास र कोइलाको अभावका कारण निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरू अहिले नै समस्यामा पर्न थालिसकेका छन् ।
नेपालमा निर्माण कार्यले तिव्रता पाउने समय भर्खर सुरु भयो । कात्तिकदेखि सुरु हुने व्यक्तिगतदेखि सरकारी परियोजना समेतको निर्माण कार्यमा प्रयोग हुने फलामे छड, सिमेन्ट र इँटाको मूल्यमा निकै ठूलो वृद्धि हुने सम्भावना देखिँदै छ । त्यसको प्रमुख कारण हो ती वस्तुहरू निर्माण हुन प्रयोग हुने कोइलाको आपूर्तिमा देखिएको सङ्कट र अकासिएको मूल्यवृद्धि ।
त्यसबाहेक त्यसै पनि तरलता अभावको सङ्कटसँग जुधिरहेको नेपालले खनिज तेल आपूर्तिका लागि निरन्तररुपमा ठूलो रकम विदेश पठाउनु पर्ने भएपछि यहाँ रहेको सङ्कट अझै गहिरिने चिन्ता बढी रहेको छ । यसै बेला औद्योगिक ऊर्जाको रूपमा प्रयोग हुने कोइलाको आपूर्तिका लागि समेत पहिलेको भन्दा झन्डै दुई गुणा बढी मूल्य चुक्ता गर्न पैसा विदेश पठाउनु पर्ने भएपछि अर्थतन्त्रमा नै त्यसले दबाब सिर्जना गर्ने देखिएको हो ।
त्यसो त अहिले नै पनि विश्वव्यापीरुपमा आपूर्ति श्रृखलामा देखिएको समस्याले नेपाललाई पिरोल्न थालिसकेको छ । उही मात्रामा त्यही वस्तु आयात गर्दा लाग्ने ढुवानी खर्च नै पहिले भन्दा यति ठूलो मात्रामा बढेको छ की हरेक वस्तुको मूल्य निकै माथि उचालिएको छ । त्यसैले नेपालमा उच्च मूल्यबृद्धिका कारण मुद्रास्फीति बढ्दा त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्ने निश्चित प्रायः छ ।
अहिले नै पनि नेपालमा सिमेन्ट र फलामे छडको मूल्य बढ्न थालिसकेको छ । फलामको मूल्य हालसम्मकै उच्च छ भने सिमेन्टको मूल्य बढाउन आफूहरू बाध्य हुनुपर्ने स्थिति बन्दै गएको सिमेन्ट उद्योगीहरू बताइरहेका छन् । कोइलाको मूल्यमा भएको वृद्धिका कारण यी वस्तुको अतिरिक्त इँटाको मूल्यमा समेत निकै वृद्धि हुने देखिँदै छ ।
यी सबै उद्योगहरूका उत्पादनमा हुने मूल्य वृद्धिले समग्रमा निकै नकारात्मक प्रभाव छोड्ने स्थिति बन्दै छ । त्यसबाहेक आन्तरिकरुपमा हुने ढुवानीमा समेत भाडा दर वृद्धि गर्न ढुवानी व्यवसायीहरू बाध्य बन्नु पर्ने गरी इन्धनमा हुन लागेको मूल्यवृद्धि हरेक भान्सामा पाक्ने एक मुठो सागको समेत मूल्य बढाउने हुँदा अहिले संसारकै सर्वाधिक ठुला अर्थतन्त्रहरूको टाउको दुखाई बनेको उर्जा सङ्कट नेपालका लागि पनि सकसको कारण बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस