
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशनको ठेकेदारको कार्यसम्पादन सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनी नेपाल विद्युत् प्राधिकरणले लिएको छ । सबस्टेशन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेशन कन्ट्रक्शन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नपाएपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का रद्द गर्ने चेतावनी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेशन निर्माणस्थलको निरीक्षण गरी चार महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।
खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन तामाकोसी–काठमाण्डौ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाण्डौको लप्सीफेदीमा ४०० केभीको सबस्टेशन पनि निर्माण गरिरहेको छ ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेशनको निर्माण भइरहेको हो । ‘झन्डै दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, चार सबस्टेशनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् ।
सबस्टेसन निर्माणपछि स्थानीय रूपमा बाह्रबिसे बजारबाट सबस्टेशनसम्म जाने झन्डै साढे चार किलोमिटर सडक जीर्ण रहेकाले निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामाग्री ढुवानीका लागि समस्या छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेशनमा जोडिने छ ।
प्रतिक्रिया दिनुहोस