
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १० गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २७ दशमलव ३७ प्रतिशत लाभांशलाई पनि पारित गर्नेछ ।
यस वर्ष कम्पनील हाल कायम चुक्तापूँजी रू. ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । यी प्रस्तावसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । कम्पनीको विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यस अघिका तीन आर्थिक वर्ष एउटै अनुपातमा कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष ०७३/७४ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७४/७५ मा कर समेत २६ दशमलव ३२ प्रतिशतनै नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर समेत ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस