
चितवन । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै ९० लाख रुपैयाँ राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ ।
नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका छन । उनका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ । रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ । वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ । प्रतिबिघा १० हजार रुपैयाँका दरले ९० लाख रुपैयाँ राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए ।
धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए। सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ । उनले वडा कार्यालयबाट ५५ हजार रुपैयाँ राहत रकम प्राप्त गर्नेछन।
प्रतिक्रिया दिनुहोस