aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

डीडीसीको खुद नाफा ४ करोड ८५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
डीडीसीको खुद नाफा ४ करोड ८५ लाख

काठमाडौं । दुग्ध विकास संस्थानले चालू आवको ९ महिनामा ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म दुग्ध विकास संस्थानले कच्चा दूध सकंलन र खरिद गरी ग्रामीण क्षेत्रमा २ अर्ब २ करोड रुपैयाँ प्रवाह गरेको छ । 

४० बर्षको दौरानमा दुग्ध विकास संस्थानमा हाल १२ सय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक २ लाख लिटर दूध खरिद हुने गरेको छ । दूध खरिद गरी प्रतिदिन करिब १ करोड रुपैयाँ ग्रामीण क्षेत्रमा प्रवाह भएको संस्थानले जनाएको छ ।

विराटनगर स्थित संस्थानको धुलो दूध कारखानाको ३ मे ट प्रति दिनको क्षमतालाई दोब्वर गरि डेरी ह्ववाईटनर उत्पादन गर्ने गरि कारखाना पूर्ण क्षमतामा संचालनमा ल्याएको छ ।

प्रदेश नं १ सरकारको आर्थिक सहयोगवाट धुलो दूध कारखानामा व्वाईलर तथा आईसवैंक खरिद प्रकृया वढेको तथा प्रदेश ५ सरकारको ५० प्रतिशत अनुदानमा २ थान ९००० लि क्षमताको रोड मिल्क टैङ्कर खरिद भएको छ  । संस्थानको आफ्नै आन्तरिक श्रोत परिचालनवाट क्रमिक रुपमा पुराना मेशिनरिजहरुको विस्थापनवाट लागत घटाउने तथा क्षमता अभिवृद्धि समेत गराएको संस्थानले बताए ।

वि सं २००९ सालमा स्विस सरकारको सहयोगवाट निर्मित लाङ्गटाङ्ग चिज उत्पादन कारखाना भुकम्पवाट पूर्णरुपमा क्षतिग्रस्त भएकोमा स्विस सरकारकै सहयोगमा उक्त कारखानाको पूनर्निर्माण कार्य सम्पन्न भएको दुग्ध विकास संस्थानले जानकारी गराएको छ । 

रसुवा जिल्लाको चिलिमे तातो पानी तथा थुमनमा नयाँ याक चिज उत्पादन कारखाना स्थापना गरि उत्पादन कार्य समेत हाल शुरु भइसकेको संस्थानले  बताए ।  

संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले संस्थानका उत्पादन गुणस्तरीय हुनुपर्छ भने पनि कति भएको छ भन्ने आशंका उव्जिएको बताए । संस्थानले गुणस्तरीय दुग्ध उत्पादन, प्रशोधन र ब्रान्डिङ गर्न प्रयत्न गरे पनि अझै गर्न नसकेको आरोप लगाए ।

डीडीसीले राम्रो गर्नुपर्छ भन्ने भावना लिएको छ । तर, कति गरेको छ भन्ने आशङ्का उबिजएको छ,मन्त्री खनालले भने, पक्कै पनि केही आशंका उव्जिएका छन् । आगामी दिनमा राम्रो गर्छ भन्ने विश्वास मलाई छ । 

उपभोक्तालाई मर्का नपर्ने र गुणस्तरीय उत्पादनमा जोड दिँदै संस्थानलाई नाफामूलक बनाउनुपर्ने मन्त्री खनालले बताए । संस्थानमा हाल करिब २ लाख कृषि परिवार संलग्न छन् । गत आवमा संस्थानले कच्चा दूध संकलन गरी ५ करोड ४६ लाख लिटरबाट गाउँका किसानलाई २ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको थियो । वि.सं २०२६ सालमा दुग्ध विकास बोर्ड ऐन, २०२१ अन्तर्गत दुग्ध विकास संस्थानमा परिणत भएको थियो । 

दुग्ध पदार्थ बिक्री वितरण गर्न डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा ३ हजार लिटर दूध प्रतिघण्टा प्रशोधन गर्न सकिन्छ । हालसम्म संस्थानमा  ५ ओटा चिस्यान केन्द्र, ८ ओटा प्रशोधन कारखाना संकलन प्रशोधन तथा बिक्री वितरण, याक चिज उत्पादन कारखाना १० ओटा, पशु आहार कारखाना १ र विराटनगरमा धूलो दूध कारखानाबाट प्रतिदिन ६ मेट्रिक टन एसएमपी कन्भर्सन हुन्छ । संस्थानले हालै चकलेट फ्लेभर्ड फ्रेस मिल्क (२०० एमएल) बजारमा ल्याएको छ ।

बालाजु, विराटनगर, हेटौंडा, पोखरा, लुम्बिनी, नेपालगन्ज, कोहलपुर, जनकपुर, धनगढीमा डीडीसीका दुग्ध वितरण आयोजना छन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडांै, प्रदेश ५ को लुम्बिनी र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुग्ध वितरण आयोजना छन् । खासगरी ४६ जिल्लाबाट करिब २ लाख किसान स्थानीय दूध संकलनमा संलग्न छन् । 

प्रतिक्रिया दिनुहोस