
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग रहेको नेपाल विद्युत प्राणिकरणले जनाएको छ । लक्ष्मी पुजाका दिनमा राजधानी काठमाडौंमा मात्रै १ सय ४७ मेगावाट माग बढेको प्राधिकरणको तथ्यांकमा रहेको छ ।
गतवर्ष ११२३ मेगावाट रहेकोमा यस वर्ष साँझ सवा ६ बजेको पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ । विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा यस वर्ष भने आन्तरिक उत्पादनले नै पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताएका छन ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो। चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको उनले बताए।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्डमा पनि २४.६४ मेगावाटले बढेको छ । गतवर्ष २९६ मेगावाटको माग हुने यस क्षेत्रमा यस वर्ष ३२०.६४ मेगावाट माग भएको उनले बताए ।
प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरुप अव वास्तविक डिमाण्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्रमा नै रहेर लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनमा लागेका थिए।
हिजो लक्ष्मी पूजाको दिन ४८ मेगावाट बिजुली भारत पठाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।
प्रतिक्रिया दिनुहोस