
काठमाडौं । कात्तिक १६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।
दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापक तर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो ।
कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारण तर्फको कुल कित्तामध्य २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।
यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन सुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस