aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रैराङ र रिडी हाइड्रोपावरबिच मर्जर सम्झौता, रैराङको शेयर कारोबार सोमवारदेखि रोक्का हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
रैराङ र रिडी हाइड्रोपावरबिच मर्जर सम्झौता, रैराङको शेयर कारोबार सोमवारदेखि रोक्का हुने

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडविच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीविच कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

रैराङ हाइड्रोपावरले मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिदैं सोमवारदेखि संयुक्त कारोबार नभएसम्मका लागि अस्थाई रुपमा कारोबार रोक्का गर्न नेप्सेसँग अनुरोध गरेको छ । मर्जर प्रयोजनका लागि नेप्सेले रैराङको शेयर कारोबार सोमवारदेखि रोक्का गर्नेछ । 

पछिल्लो समय जलविद्युत कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्कासनलाई जोड दिईरहेको अवस्थामा यी दुई जलविद्युत कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन । मर्जर सम्बन्धी प्रस्ताव रिडी हाइड्रोपावरले कात्तिक १२ गते २०औं र रैराङ हाइड्रोपावरले कात्तिक १७ गते १८औं वार्षिक साधारण सभामार्फत पारित गरेका थिए ।  

दुबै कम्पनीले मर्जर पस्ताव सहित एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सोही सभाबाट पारित गरेका छन् । साधारण सभा प्रयोजनका लागि रैराङ हाइड्रोपावर कम्पनीले कात्तिक ४ गते एक दिन र रिडी हाइड्रोपावरले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

यी दुई कम्पनी मर्जरपश्चात चुक्तापूँजी रू. १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्नेछ । हाल रिडी हाइड्रोपावरको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । गत चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रिडी हाइड्रोपावरको खुद नाफा रू. ७ करोड २८ लाख ८१ हजार र रैराङ हाइड्रोपावरको खुद नाफा रू. ५ करोड ९० लाख १८ हजार रहेको छ । त्यस अवधिसम्म रिडी हाइड्रोको जगेडा कोष रकम रू. ७ करोड ३९ लाख २४ हजार र रैराङ हाइड्रोपावरको जगेडा कोष रकम रू. ७ करोड ५३ लाख ८१ हजार छ ।

मर्जर पश्चात कुल चालू सम्पत्ति रू. १७ करोड ४४ लाख ८४ हजार कायम हुनेछ भने कुल चालू दायित्व रू. २५ करोड ९ लाख १३ हजार हुनेछ । रिडी हाइड्रोपावरको गत चौथो त्रैमाससम्म कुल चालू सम्पत्ति रू. ६ करोड ९७ लाख ९२ हजार रहेको छ भने कुल चालू दायित्व रू. १३ करोड ८४ लाख १६ हजार छ ।  

त्यस्तै रैराङ हाइड्रोपावरको कुल चालू सम्पत्ति रू. १० करोड ४६ लाख ९२ हजार छ भने कुल चालू दायित्व रकम रू. ११ करोेड २४ लाख ९७ हजार रहेको छ । चौथो त्रैमाससम्म रिडी हाइड्रोपावरले रू. १७ करोड ८७ लाख ५७ हजार कुल आम्दानी गरेको छ भने रैराङ हाइड्रोपावरको यो आम्दानी रकम रू.२४ करोड २७ लाख ५८ हजार छ । रिडी हाइड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक रू. १२ दशमलव ४५ रहेको छ भने रैराङ हाइड्रोको वार्षिक रू. १० दशमलव ५४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस