
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म नौं जलविद्युत कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । गत वर्षको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसक्ने कम्पनीहरुमा सिनर्जी पावर, अपि पावर, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रूरू जलविद्युत परियोजना, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर रहेका छन् । हाल दोस्रो बजारमा ४३ जलविद्युत कम्पनीहरु सूचीकृत रहेका छन् । पछिल्लो समय दोस्रो बजारमा थपिने नयाँ कम्पनीहरुमा जलविद्युत कम्पनीहरुनै बढी रहेका छन् ।
हालसम्म पारित जलविद्युत कम्पनीहरुको मात्र लाभांशलाई हेर्दा ङादी ग्रुप पावरको सबैभन्दा बढी रहेको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश असोज ३ गतेनै वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । सोही सभाबाट १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । ङादी ग्रुप पावरले २० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा दुई सय प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको हो ।
अरुण काबेली पावरले यस वर्ष कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । अरुण काबेली पावरले पनि १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सोही सभाबाट पारित गरेको छ । लाभांश पारित गरेका नौं जलविद्युत कम्पनीहरुमध्य रिडी र रैराङ हाइड्रोपावरले भने एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश दिएका छन् ।
यस वर्ष अरुणभ्याली हाइड्रोपावर , सानिमामाई हाइड्रोपावर, रूरू जलविद्युत परियोजना र सिजर्नी पावरले पनि एउटै अनुपातमा अर्थात १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश पारित गरेका छन् । अपि पावरले भने यो वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको छ । सिनर्जी पावरले २ः१ को अनुपातमा , अपि पावरले १ः०.३९३६ को अनुपातमा र अरुणभ्यालीले १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस