
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि निर्धारित समयभित्र आवेदन दिनेको सङ्ख्या एक दर्जन पुगेको छ । बिहीबारसम्म तोकिएको समयमा आवेदन दिनेहरूमा नेपाल धितोपत्र बोर्डमा कार्यरत ३ जना कर्मचारीका अतिरिक्त नेपाल स्टक एक्सचेन्जदेखि बीमा समितिको नेतृत्व समालिसकेका व्यक्तिहरू पनि रहेका छन् ।
उनीहरूबाहेक पुँजी बजारसँग आफै साइनो जोडेका शेयर कारोबारी, पुँजी बजारका कथित विज्ञदेखि सञ्चार उद्यमीसमेत अध्यक्ष बन्ने प्रतिस्पर्धामा उत्रिएपछि यो विषय निकै रोचक बनेको छ । नेपालको पुँजी बजारलाई नियमन गर्ने निकायको नेतृत्व गर्न तम्सिएका यी नै एक दर्जन व्यक्तिहरूबारे सार्वजनिक भएका विषयवस्तुहरूका आधारमा यहाँ को कति बलियो उम्मेदवारकारुपमा पेस हुन सक्लान् भन्ने चर्चा गरिएको छ । सुरु गरौँ धितोपत्र बोर्डकै कर्मचारीहरूमध्येका आकांक्षीहरुबारेको विश्लेषणबाट ।
हाल सेबोनका कार्यकारी निर्देशकका रूपमा अध्यक्षको अनुपस्थितिमा सिङ्गै सेबोन हाकीरहेका नीरज गिरीले त्यसको अध्यक्ष बन्दै आफ्नो कार्यक्षमता प्रस्तुत गर्ने रहर गरेका छन् । गिरी नेपालको धितोपत्र बोर्डबारे हालका प्रतिस्पर्धीमध्ये सर्वाधिक जानकार रहेका व्यक्ति हुन् । यसअघि धेरै जना अध्यक्षहरूलाई उनले सहयोग गरिसकेका छन् । सेबोनका समस्या र त्यसका निराकरणका उपायका बारेमा उनी राम्रोसँग जानकार छन् ।
सेबोनका पूर्व अध्यक्षहरू सुरबिर पौडेल, बाबुराम श्रेष्ठदेखि लिएर भीष्म ढुङ्गानासम्म आइपुग्दा उनीहरूलाई साथ सहयोग गर्दाको अनुभव गिरीसँग छ । अहिले भीष्म ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि उनैले सेबोन चलाइरहेका छन् । यसको आधारमा हेर्ने हो भने नेपालको धितो बजारलाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न उनले प्रत्यक्ष भूमिका खेलेका छन् र उनको अहम् योगदान छ ।
सेबोनकै उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न तम्सिएका छन् । उनको खासियत के हो भने उनी सेबोनको अनुसन्धान विभागमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् । नेपालको पुँजी बजारलाई नयाँ ढङ्गले विकास गर्नै पर्ने काम के हो र त्यसका व्यवहारिक र कानुनी चुनौतीहरू कस्ता छन् भन्ने विषयमा उनी जति जानकार अरू छैनन ।
नीतिगत रूपमा सुधार गर्नु पर्ने कुराहरूदेखि लिएर व्यवहारिकरुपमा देखा पर्ने अड्चनहरूसम्मको विश्लेषणसम्म गरेर बसेका व्यक्ति हुन् डा. अधिकारी । यदि उनले जे बुझेका छन् अध्ययन अनुसन्धानकाक्रममा तथ्य र प्रमाणहरूले जे जसरी अगाडी बढ्नका लागि निर्देश गरेका छन् त्यसको आधारमा नेपालको पुँजी बजारलाई कसरी हिँडाउनु पर्छ भन्नेबारे पुरापुर जानकार रहेका यो दौडमा सामेल एक मात्र व्यक्ति हुन् डा. अधिकारी ।
उनको प्रतिस्पर्धा नीरज गिरीसँग मात्रै हुन सक्छ । र, गिरीको अधिकारीसँग । यी दुवै सहकर्मीहरूले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित छनौट समिति समक्ष के कसरी आफ्ना कार्य योजना प्रस्तुत गर्छन् त्यसैले कसले नेतृत्व सम्हाल्ने भन्ने कुरा निर्धारित गर्ने देखिन्छ ।
त्यसो त अनुभव कार्यक्षमता, दक्षता र सुझबुझले मात्रै धितोपत्र बोर्डको अध्यक्ष बन्ने हो भने अहिले यसरी एक दर्जनको आवेदन नै पर्ने थिएन । किनकि बाहिरी आँखाबाट हेर्दा नीरज गिरी र अधिकारीबाहेक अरूले त्यो कुर्सीको लोभ नगर्दै हुने हो । तर, त्यस्तो हुँदैन । सायद त्यही भएर हुनसक्छ कतै कुनै जोडबल लगाउन सके आफैले पहिले जागिर खाएको कार्यालयमा अध्यक्ष बन्न पाइहालिन्छ की भन्ने इच्छा सेबोन कै पूर्व कर्मचारी डा. जीवन अम्गाईमा पनि देखिएको छ । धितोपत्र बोर्डमा पहिले जागिर खाएको र जापानमा गएर विद्यावारिधि उपाधि लिएको आएको बाहेक अम्गाईसँग अर्को कुनै त्यस्तो विशेषता देखिँदैन । जसले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बन्न लायक प्रमाणित गर्छ ।
माथि नै उल्लेख गरिसकिएको छ क्षमता र दक्षता मात्र धितोपत्र बोर्डको अध्यक्ष बन्न पुग्ने योग्यता होइन । त्यसका लागि राजनीतिक साथ र सहयोगदेखि आर्थिक चलखेल समेतको महत्त्व रहन्छ । सायद त्यही भएर होला प्रमुख कार्यकारी अधिकृतकारुपमा नेपाल स्टक एक्सचेन्जको नेतृत्व गर्दा आहा भन्न लायक खासै कुनै काम गर्न नसकेका सिताराम थपलियाले पनि अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।
थपलियाको आफ्नै बलियो नेटवर्क छ । उनले नेप्सेमा बसेकै बेला आफ्नो नियामक निकाय सेबोनलाई चिनेका छन् । त्यसको नेतृत्व सम्हाल्न के कस्ता साइनो सम्बन्ध र हथकन्डाहरु अपनाउनु पर्छ त्यो उनलाई थाहा छ । त्यस्तै अर्का एक जानकारले पनि सेबोनको अध्यक्ष बन्ने रहर देखाएका छन् । उनी हुन्, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ ।
चापागाईँ यस्ता नियुक्तिहरूका लागि अद्भुत क्षमता भएका व्यक्ति हुन् । बीमा समितिको अध्यक्ष बन्दा नै छनौट भएर बधाई खाइसकेका अर्का प्रतिस्पर्धीलाई पाखा लगाउँदै औपचारिकरुपमा अध्यक्षको नियुक्ति पत्र हात पार्न त्यस बेला चापागाईँ कसरी सफल भए भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ । तर, कार्यकुशलताको विषयमा भने उनीबारे धेरै चर्चा गर्न जरुरी नै छैन । दुनियाँमा नै कहीँ नभएको महामारीको समेत बीमा गराएर आफू नेतृत्वमा रहेका बेला कोरोना बीमा मार्फत नेपालको बीमा क्षेत्रलाई नै कलङ्कको कालो टिका लगाएर बिदा भएका व्यक्ति हुन् उनी ।
त्यसबाहेक कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख प्रशासक कृष्ण आचार्यले पनि धितोपत्र बोर्ड सम्हाल्ने रहर देखाएका छन् । धितोपत्र बजारसँग सम्बन्धित उनको अनुभव र दक्षताको कुनै प्रमाण भेटिँदैन । तर, राजनीतिक नेतृत्वसँग राम्रै सम्बन्ध राखेका व्यक्तिकारुपमा उनको चर्चा हुने गरेको छ ।
अर्का एक व्यक्ति पनि अध्यक्ष बन्न निकै बल गरेर लागि परेका छन् । उनी हुन्, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट । भट्टले पनि आवेदन हालेको समाचार सार्वजनिक हुनसाथ नेपालका शेयर कारोबारीहरू भने निकै नै चिन्तित देखिएका छन् । उनी तिनै व्यक्ति हुन् जसले हालै सञ्चार माध्यममा भनेका थिए– यदि म सेबोनको नेतृत्वमा हुन्थे भने शेयर कारोबारीलाई वित्तीय संस्थाहरूबाट कर्जा दिने कुरा बन्द गराउने र अस्तित्वमा रहेका शेयर लगानीकर्ता कारोबारीका सबै संस्था खारेज गर्ने काम गर्छु ।
यसरी घोषितरुपमै शेयर बजारको घाँटी निमोठ्ने योजना सार्वजनिक गरेका भट्ट सेबोनको अध्यक्ष बने भने अवस्था कस्तो होला भन्ने चिन्ता आम लगानीकर्तामा हुनु स्वाभाविक हो । यस्तो चिन्ता किन पनि बढेको छ भने नेप्सेको सिईओका रूपमा रहँदा अर्का आकाङ्क्षी सिताराम थपलियाले गरेका काम कारवाहीको पिडा अहिले पनि नेपालको शेयर बजारले भोगिरहेकै छ ।
त्यसबाहेक भट्टको असहिष्णुपनको पिडा नेपाल बैंकका कर्मचारीहरूले पनि भोगिसकेका छन् । जुन बेला उनी राष्ट्र बैंकको मानव संसाधन विभाग प्रमुख थिए त्यस बेला उनले आफ्नो हित रक्षा गर्न कर्मचारी नियमावलीमा गरेको हेरफेर र त्यसले राष्ट्र बैंकका ल्याएको तरगं अहिले पनि त्यहाँ चर्चाएको विषय बन्ने गरेको छ ।
उल्लेखित बाहेक अरू आकांक्षीहरु खासै चर्चायोग्य छैनन् । डा. केशव श्रेष्ठलाई बजारमा अनलाइन सञ्चालक बनेर शेयर बजारलाई प्रत्यक्ष असर पार्नेगरि यसको शेयर किन्नु यसको शेयर बेच्नु भन्दै आफ्नो स्वार्थ अनुकूलका हल्ला फैलाउने गरेको आरोप लाग्ने गरेको छ । त्यसको सत्यता, तथ्यता जे जस्तो भए पनि त्यो चिरेर आफूलाई धितोपत्र बोर्डको अध्यक्ष बन्न योग्य प्रमाणित गर्न उनलाई निकै हम्मे हम्मे पर्ने देखिन्छ । अर्का एक आकांक्षीको भने बेग्लै प्रकारले चर्चा छ । ती हुन्, अनिल पौडेल । उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलका मान्छे भनेर चर्चा गरिँदै छ । रमेश हमाल नेपालका अन्तर्राष्ट्रिय स्तरका दलाल दिपक भट्टका मान्छे भन्ने चर्चा छ । दिपक भट्ट साँच्चै लागे भने रमेश हमाललाई सेबोनको अध्यक्ष बन्न कसैले रोक्न नसक्ने भन्ने चर्चा बिहीबार साँझदेखि व्याप्त छ ।
अब बाँकी रहेका अम्बिका शर्मा लामिछाने र हेमन्त बस्यालले आवेदन दिए पनि खासै चर्चामा छैनन । वित्तीय क्षेत्रबारे जानकार राख्ने सिएको रूपमा बस्यालको परिचय सार्वजनिक भएको छ । यता अम्बिकाबारे खासै कुनै जानकारी बाहिरिएको छैन । सेबोनको अध्यक्ष बन्न धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हुनु पर्नेछ । सायद उनीहरूसँग पनि त्यतिको योग्यता भएरै आवेदन गरेका होलान् । नत्र तीन हजार रुपैयाँ भए पनि किन खर्च गर्थे ?
प्रतिक्रिया दिनुहोस