aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रोपाईं गर्न अझै आधाभन्दा बढी खेत बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
रोपाईं गर्न अझै आधाभन्दा बढी खेत बाँकी

काठमाडौं । देशको मुख्य खाद्य बाली  धानको रोपाईं गर्न अझै आधाभन्दा बढी बाँकी रहेको छ । असारमा नै रोपाईं गर्दा खेती सप्रिने र उब्जिनी बढी हुने भए पनि साउन लाग्दासम्म आधाभन्दा बढी खेतमा अझै रोपाईं हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्यांकअनुसार असार मसान्तसम्मद देशभर ४०.४६ प्रतिशतमात्रै रोपाईं भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३.४२ प्रतिशतले कम रोपाईं भएकोे छ । अघिल्लो वर्षको असार मसान्तसम्म ६३.८८ प्रतिशत रोपाईं भएको थियो । रोपाईं गर्ने बेलामा खडेरी परेका कारण रोपाईं गर्न ढिला भएको मन्त्रालयले जनाएको छ ।  देशभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ  ।

गत वर्ष अनुकुल मौसम, पर्याप्त सिँचाइ र रासायनिक मलको उचित प्रबन्ध भएकै कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशगत आधारमा सबैभन्दा बढी सुदूरपश्चिम र कम प्रदेश २ मा रोपाईं भएको छ । असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा ६९.८३ प्रतिशत र प्रदेश २ मा जम्मा १६.६३ प्रतिशत धान रोपाईं भएको छ । अघिल्लो वर्षको यही अवधिमा सुदूरपश्चिम प्रदेशमा ८१ प्रतिशत रोपाईं भएको थियो ।

हालसम्म कर्णाली प्रदेशमा ६७.८३ प्रतिशत धान रोपाईं भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६९.९३ प्रतिशत रोपाईं भएको थियो । प्रदेश १ मा ३६.७ प्रतिशत, प्रदेश ३ मा ३१.०६, गण्डकी प्रदेशमा ६७.४० प्रतिशत र प्रदेश ५ मा ४७.८४ प्रतिशत रोपाईं भएको छ । त्यस्तै मध्यपहाडी क्षेत्रमा कुल ५३.९६ प्रतिशत रोपाईं भएको  छ । गत वर्ष यही अवधिमा ६७.०४ प्रतिशत रोपाईं भएको थियो ।  उच्चपहाडी क्षेत्रमा ५१.८१ प्रतिशत भएकोमा गत वर्ष ६६.२२ प्रतिशत रोपाईंँ भएको थियो ।अन्नको भण्डार मानिएको तराईमा भने सबैभन्दा कम ३५.१२ प्रतिशतमात्रै रोपाईं भएको छ । गत वर्ष यही अवधिमा ६२.६५ प्रतिशत क्षेत्रमा रोपाईंँ भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस