
काठमाण्डौ । यस वर्ष अलैँचीले अघिल्लो वर्षको तुलनामा दोब्बर मूल्य पाएको छ । नेपालमा अलैँचीको उत्पादन कम भएकाले मूल्य बढेको अलैँची उत्पादक महासंघले बताएको छ । मूल्य बढेपनी उत्पादकहरू भने रमाउन सकेका छैनन्।
हाल नेपालमा उत्पादन भएको अलैँचीको ९५ प्रतिशत खपत भारतमा मात्रै हुने भएकाले बेला बेला समस्या भइरहेको महासंघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । नेपालमा उत्पादन भएको अलैँचीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि उत्पादनमा आएको कमीका कारण विदेश निर्यात गर्न नसकेको अध्यक्ष कार्कीको भनाई छ ।
उनले भने, ‘नेपालमा उत्पादन भएको अलैँचीको माग विदेशमा उच्च रहे पनि जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले अलैँचीको उत्पादन नै कम भयो । र, गत वर्षहरूमा अलैँचीको मूल्य नपाएपछि केही किसानहरू अलैँची खेतीबाट नै पलायन समेत भए ।’ यसरी किसानहरू खेतीबाट नै विस्थापित भएका कारण उत्पादन घटेकाले मूल्यमा वृद्धि भएको हो।
त्यसमाथि अलैँचीमा रोग पनि लाग्यो । रोगका कारण अहिले गुणस्तरीय अलैँची पाउन गाह्रो छ । फल लाग्ने समयमा अलैँचीमा रोगको सङ्क्रमण नभएको भए माग अझै उच्च हुने अध्यक्ष कार्कीको भनाइ छ । नेपालमा अलैँचीका लागि प्रविधि (जेटिए) पनि नभएकाले अलैँचीमा लाग्ने रोग बेलैमा निदान हुन नसक्दा अलैँचीमा ठुलो क्षति बेहोर्नु परेको उनी बताउँछन् । यसरी बालीमा रोग लागेर ठुलो क्षति पुग्ने तथा विगतमा राम्रो मूल्यमा अलैँची नबिक्ने गरेका कारण ठुलो सङ्ख्यमा किसानहरू यो खेतीबाट विस्थापित भइसकेका छन्।
अलैँची किनबेच हुने यो मुख्य सिजनमा गएको साल प्रतिमन (४० किलोको एक मन) २४–२५ हजार रुपैयाँमा किनबेच भएको थियो । यस वर्ष भने प्रतिमन ४६ हजार रुपैयाँमा किनबेच भइरहेको उनले बताए । निरन्तर तीन वर्षसम्म ओरालो लागेको अलैँचीको भाउ यस वर्ष गएका वर्षहरूको तुलनामा २६ हजार रुपैयाँले बढी हो ।
हाल नेपालमा नेपालमा रोपिने अलैँचीका जातहरूमा रामशाइ, गोलशाइ, डम्बरशाइ, जिर्मले, भर्लाङ्ग, साउने, सिबेशाइ, सेरिम्ना, मधुशाइ, सिक्किमे, रामला, ताप्लेजुङ र जङ्गुगोलशाइ रहेको उनले बताए । त्यस्तै भर्खरै विकास गरिएको भर्लाङे जातको बिरुवा काभ्रेमा नर्सरी गरिएको उनले बताए । नेपालमा हाल ३७ जिल्लामा अलैँची खेती हुने गरेका भए पनि अलैँची विकास केन्द्र भने इलाममा मात्रै रहेको अलैँची व्यवसायी तथा महासंघका पूर्व अध्यक्ष अनिल ढुङ्गाना बताउँछन् । नेपालका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, दोलखा र लमजुङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक लगायतका जिल्लामा धेरै अलैँची लगाइने गरेको छ ।
नेपालबाट भारत मात्र अलैँची निकासीका लागि सहज भए पनि बङ्गलादेश निकासमा भने सरकारले महँगो कर लिने गरेको उनीहरूको गुनासो रहेको छ । हाल नेपालबाट बङ्गलादेश अलैँची निकासीमा ३५ प्रतिशत कर लाग्ने गरेकाले नेपालबाट बङ्गलादेश अलैँची माग भए पनि निकासी गर्न नसकेको अध्यक्ष कार्की बताउँछन् । उनले भने, ‘नेपाल सरकारलाई हामीले बारम्बार बङ्गलादेश अलैँची निकासीका लागि सहज बनाइदिन अनुरोध पनि गरेका छौँ तर, सरकारले भने यस तर्फ ध्यान दिइरहेको छैन ।’
आर्थिक वर्ष २०७५/७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा रहेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ मा १५ हजार दुई सय ७४, बागमतीमा एक हजार दुई सय ३८, गण्डकीमा एक हजार चार सय ४६, लुम्बिनीमा एक सय ६७ अलैँची उत्पादन हुने गरेको छ । त्यस्तै, कर्णालीमा एक सय २७ र सुदूरपश्चिममा २१ हेक्टर गरी नेपालमा जम्मा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस