
काठमाडौं । मंगलबारसम्म १४ जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, एशियन लाइफ, प्राइम लाइफ र ज्योति लाइफबाहेकका अन्य जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
कुनको कस्तो छ अवस्था ?
नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफामा ठूलो गिरावट आएको हो । यस कम्पनीको नाफामा ९६.९३ प्रतिशत कमी आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले यस अवधिमा ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको जनाएको छ । गत वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्षकोे पहिलो त्रैमासिकसम्ममा खुद बीमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोष ६७ प्रतिशतले बढेको छ । यस अवधिमा यस्तो कोषमा ८ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको हो । गत वर्षको यहि अवधिमा यस्तो कोषमा ५ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले उक्त अबधिमा तीन करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी चालू आवको पहिलो त्रैमाससम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा ४४ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ३८ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद मुनाफामा पनि २४.७८ प्रतिशतले सुधार भएको छ । तीन महिनाको अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ । गत वर्षको सोहि अवधिमा तीन करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष एक अर्ब १८ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी)को बीमा शुल्कमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा अघिल्लो सोहि अवधिमा ५ अर्ब ३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । साथै, कम्पनीले बीमालेख धितोमा १४ अर्ब करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरी ३८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ३३.४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको मंगलबार सार्वजनिक गरेको वित्तीय रिपोर्टमा उल्लेख छ । कम्पनीको खुद नाफा पनि ११.८० प्रतिशतले बढेको हो ।
कम्पनीले खुद नाफा ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद नाफा रहेको थियो । खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्षकोे पहिलो त्रैमाससम्म जीवन बीमा कोष १११.४० प्रतिशतले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष २ अर्ब ८२ लाख रहेको थियो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल बीमाशुल्क ६२ करोड ८ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा १ अर्व २४ करोड ३२ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले चालू आवको पहिलो त्रैमाससम्म ४ दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ४ करोड २७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँमा झरेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत घटेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने जगेडामा ५७ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चित गरेको छ । त्यसैगरी बीमा कोषमा १० अर्ब ८८ करोड १८ लाख सञ्चित गरेको छ ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ५४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७० प्रतिशतले बढी हो । असोज मसान्तसम्म कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.०५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ५९ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
सन लाइफ नेपाल
सन लाइफ नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ करोड ५४ लाख रुपैयाँ मात्रै थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन पनि ४२ प्रतिशतले सुधार गर्न सफल भएको छ । कम्पनीले तीन महिनाको अवधिमा ५७ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।
गत वर्षको यहि अवधिमा ४० करोड २८ लाख रुपैयाँ मात्रै थियो । जीवन बीमा व्यवसायमा सुधार भए सँगै जीवन बीमा कोष पनि ७५ प्रतिशलते बढाउन सफल भएको छ । यस्तो कोषमा २ अर्ब ६६ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
आईएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म कुल बीमाशुल्क आर्जन रकम ५० दशमलव ५६ प्रतिशत बृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा ५३ करोड ८४ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा ८१ करोड ७ लाख १० हजार रुपैयाँ गरेको हो ।
त्यस्तै, कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ४ करोड ३६ लाख ४९ हजार रुपैयाँ खुुद नाफा गरेको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १ दशमलव ३१ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ४ करोड ३० लाख ८१ हजार रुपैयाँ थियो ।
कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ७३ करोड १८ लाख ७४ हजार रुपैयाँ जीवन बीमा कोषमा सञ्चित गरेको थियो । यस वर्ष भने यो रकम ३ अर्ब ३७ करोड ५१ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।
नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ४४ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको यस्तो कोषमा ३५ अर्ब रुपैयाँ थियो ।
कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २२.८५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । असोज मसान्तसम्ममा कम्पनीले खुद बीमा शुल्क आर्जन मात्रै तीन अर्ब ४४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो ।
यस कम्पनीको मुनाफामा भने गिरावट देखिएको छ । तीन महिनाको अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
रिलायन्स लाइफ
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको महा विपत्ति कोषमा २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५८ दशमलव १० प्रतिशतले बढी हो ।
प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले ५५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस त्रैमासको अवधिसम्ममा तीन करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा पनि ७.२२ प्रतिशतले बढेको छ । कम्पनीको दिर्घकालिन लगानी ८५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने अल्पकालिन ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधिसम्ममा ३२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा २३ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३९ दशमलव २४ प्रतिशतले बढी हो ।
एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ८९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १० करोड ४४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९६ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस