aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हरियाली ग्रुपः दक्षिण अफ्रिकाको टिम्बाली र भारतको अमूल मोडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
हरियाली ग्रुपः दक्षिण अफ्रिकाको टिम्बाली र भारतको अमूल मोडेल

काठमाडौं ।  कृषि तथा पशुपन्छीपालन क्षेत्रमा नविनतम प्रविधि प्रयोग गरी उत्पादन तथा उत्पादकत्व बढाउँदै मुलुकभित्र रोजगारीको अवसरहरु सिर्जना गर्ने उद्देश्य अनुरुप म्याग्दी जिल्लाको वेनी नगरपालिका–४ सिङ्गामा २०७५ सालमा हरियाली ग्रुपको स्थापना भएको छ । 

कम्पनी मोडेलमा सञ्चालित उक्त गु्रपले स्थानीय कृषकहरुको जग्गा एकीकरण र चक्लाबन्दी गरी सहकारी अवधारणामा सामूहिक रुपमा व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्दै आएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा उल्लेख छ । उक्त फार्मले दक्षिण अफ्रिकाको टिम्बाली र भारतको अमूल मोडेलको संयोजन गरेको बताइएको छ । 

उक्त फार्मले मुलुककै नमुना कृषि फार्मका रुपमा देशै भरीका स्थानीय तहमा विस्तार गरी कृषिमा क्रान्ती ल्याउने महत्वाकांक्षी लक्ष्य लिएको उक्त अध्ययनमा बताएएको छ । उक्त फार्मले एकातर्फ, टिम्बाली मोडेलमा झैं समूहकृत भई कामगर्न चाहने कृषकहरुलाई जमिन, श्रम, पुँजी र प्रविधिको उचित संयोजन गर्दै आएको छ भने अर्कोतर्फ अमूलले जस्तै आफ्ना सबै कृषि उपज हरियाली ब्राण्डमा ब्राण्डिङ गरी विक्री गर्दै आएको छ ।

शुरुमा ८ जना कृषि प्राविधिक सहित २५ जना कर्मचारी रहेको उक्त फार्ममा सहकारी मोडेल अन्तर्गत उक्त क्षेत्रका ३४ जना कृषकहरुलाई शेयर सदस्य बनाई कुल ६४ जना शेयर सदस्य रहेका छन् । करिब १० करोड रुपैयाँ लगानीमा १९० रोपनी क्षेत्रफल जग्गाबाट शुरु भएको उक्त फार्म हाल २०३ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

उक्त फार्मले ५ करोड सहुलियतपूर्ण कर्जा उपयोग गरेको छ भने १५ वर्षसम्मका लागि जग्गा भाडामा लिई जमिनको चक्लाबन्दी गरी कुखुरा, माछा, बाख्रा र कालिज पालनका साथै तरकारी खेती गरेको पाइएको राष्ट्र बैंकको अध्ययनमा छ । फार्मले आफ्ना कृषि उपज मुख्य गरी बेनी, बागलुङ र मुस्ताङमा विक्री गर्दै आएको जनाएको छ ।

हरियाली फार्ममा १२ खुला टनेल, २८ ट्रस टनेल, १ हाईटेक टनेल, १ बाख्राको खोर तथा १९ माछा पोखरी रहेका छन् । ५० वटा वोयर जातका बाख्रा ४,००० रिङनेक जातको कालिज, ८,००० लेयर्स कुखुरा पालन गरेको उक्त फार्मले दैनिक ७००० अण्डा उत्पादन गर्ने तथा मासिक करिब २,५०,००० रुपैयाँ बराबरको माछा र वार्षिक करिब २२,००,००० रुपैयाँ बराबरको तरकारी बेच्ने गरेको जानकारी गराएको छ । हाल वार्षिक ४.५० करोड रुपैयाँ चालु खर्च भई व्रेक इभन पोइन्टमा रहेको छ भने आगामी वर्ष वार्षिक आम्दानी ६.५० करोड पुग्ने लक्ष्य रहेको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस