
काठमाडौं । साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँको शेयर सरकारले खरीद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो ।
तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको आज आयोजित पत्रकार सम्मेलनमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । धेरैले ‘सरकारले निर्णय मात्रै गरेको काम नगरेको’ भनिरहँदा सरकार कार्यान्वयन गर्न लागिपरेको उनको भनाइ थियो । मन्त्रालयले बस खरीद र सञ्चालन संस्थामार्फत गर्न लागेको हो । उनले भने, “मन्त्रालयले यसमा समन्वयको काम गर्नेछ ।”
मन्त्रालयले विद्युतीय बसका लागि मापदण्ड बनाएको मन्त्री महासेठले जानकारी दिनुभयो । उनका अनुसार मन्त्रालयले संस्थालाई मापदण्ड पनि दिइसकेको छ । दुई सरकारबीच सम्झौता ९जिटुजी० अनुसार वा खुला प्रतिस्पर्धाअनुसार सार्वजनिक खरीद प्रक्रियाबाट किन्ने उहाँले बताउनुभयो । उनले भने, “अरु कुनै पनि खालको बाधा नआएमा असोजमै बस सञ्चालन शुरु गर्न सकिनेछ ।”
मन्त्री महासेठले विकासका काममा केही समय लाग्ने भए पनि कामप्रति शङ्का नगर्न अनुरोध गर्नुभयो । अहिले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकार विद्युतीय बस सञ्चालनमा इच्छुक भएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका र बाहिर कस्ता बस सञ्चालन गर्ने भन्ने मापदण्डमा तोकिएको छ । बस बालबालिका, ज्येष्ठ नागरिकमैत्री बस हुनुपर्ने तथा उभिने र बस्ने कति ठाउँ हुने भन्ने मापदण्डमा स्पष्ट पारिएको छ । मन्त्रालयले रकमसँगै मापदण्ड पनि साझालाई दिएको बताए । “काठमाडौँ र उपत्यका बाहिर एकनासको बस नहुन सक्छ”, उनले भने ।
वर्तमान सरकार गठन हुनासाथ सार्वजनिक सवारीसाधनमा सुधारको काम थालेको मन्त्री महासेठले बताए । विसं २०७४ चैत १८ गते आफूले २५ वर्षदेखि कायम रहेको एकाधिकार अन्त्य गरेसँगै राम्रो बस सञ्चालनको योजना बनाएको उनले बताए । उनेका अनुसार एकाधिकारको अन्त्यपछि नै मन्त्रालयलाई वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि बाटो खुलेको हो । नेपालीले सूचना प्रविधियुक्त, सजिला र सुविधासम्पन्न बस आउने आशा गरेको र सरकारले त्यसैअनुसार योजना बनाएको उनेले बताए ।
अहिले देशभरमा रहेका यातायात व्यवसायीले कम्पनी दर्ता गरेर सवारी साधन पञ्जीकरण गरिरहेको मन्त्री महासेठले बताए । देशभरमा १३७ कम्पनीमार्फत अढाइ लाख सवारीसाधन दर्ता भएका छन् । सरकारले यातायात क्षेत्रको सुधारकै लागि यातायात प्राधिकरण गठन गर्ने तयारी गरेको जानकारी उने दिए । मन्त्रालयले सो विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । उले भने, “विधेयक पास भएर प्राधिकरण दर्ता भएपछि नै यस क्षेत्रमा धेरै सुधार हुनेछ ।”
सरकारले पहिलो वर्ष विभिन्न कानून बनाउनेमा नै ध्यान केन्द्रित गरेको बताउँदै त्यति हुँदाहुँदै पनि मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा बढी सडक कालोपत्र र धेरै सङ्ख्यामा सडक पुल निर्माण सम्पन्न गरेको उनको भनाइ थियो । सरकारले असोजभित्रै जयनगर–बर्दिवास रेल सञ्चालन गर्ने जिकिर उनले गने । सरकारले रेल ऐनसमेत अघि बढाएको मन्त्री महासेठले जानकारी दिए ।
साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले संस्थाले पारदर्शी भएर मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार साझा यातायात सरकारको ९९ प्रतिशभन्दा बढी शेयर भएको संस्था हो । सरकारको लगानी भएको संस्थाले नाफा मात्रै हेर्नेभन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिने उनको भनाइ थियो ।
साझाले नेपालमा यातायात क्षेत्रमा नयाँ शुरुआत गरेको र सबै वर्गलाई समेट्ने कुरामा ध्यान दिएको उनले बताए । संस्थाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउने तथा विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई रु १० मात्रै भाडा लिने गरेको छ । उनले भने, “अहिले अरु धेरै कम्पनीले पनि संस्थाकै जस्तो ठूला बस सञ्चालन शुरु गरेका छन्, यसले गर्दा यात्रुलाई सुविधा भएको छ ।”
मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले हरित ऊर्जाको प्रयोगबाट जनस्वास्थ्य तथा वातावरण क्षेत्र संरक्षणमा सकारात्मक प्रभाव पर्ने भएकाले विद्युतीय बस खरीद गर्न लागिएको बताए ।
प्रतिक्रिया दिनुहोस