aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार

ग्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती हुन् । 

प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले दुई वटा वडाका १५० घरधुरीमा बिजुली बत्ती बालिएकोे जानकारी दिए । “लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ”, उनले भने, “लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच वटावटा वडामध्ये एक वडा बाहेक अन्य सबैमा  विद्युतीकरण भइसकेको छ ।” 

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत् सुविधा भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । यसबाट घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सौर्य उर्जा  र टुकी बाल्ने गरेका थिए । 

चालू आर्थिक वर्षभित्र नै उपल्लो मुस्ताङका दुई वटा गाउँपालिकाको सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा बिस्तार गर्ने तयारीसहित काम भइरहेको केन्द्र प्रमुख नेपालले बताए। एघार केभी क्षमताको लाइनबाट चीनको सीमावर्ती बस्तीसम्म विद्युतीकरण गरिएको निर्माण व्यवसायी दिनेश ढुङ्गानाले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग बेनीको न्यू ढुङ्गाना निर्माण सेवा कम्पनीले त्यहाँ विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको थियो । 

तार, खम्बा र उपकरण प्राधिकरणले खरिद गरेर ढुवानी गर्ने र जडानको काम गर्न ठेकेदार कम्पनीले  गर्ने भएको छ । मुस्ताङमा निलगिरि उपभोक्ता सहकारी संस्थामार्फत विद्युत् वितरण र महसुल सङ्कलन गरिँदै आएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् लाइन बिस्तारका लागि गण्डकी प्रदेश सरकारले आव २०७५/०७६ मा करिब ८ करोड विनियोजन गरेको थियो । 

उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार सो बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाइनका १८० खम्बा पु¥याइएको थियो । लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान खम्बा प्रदेश सरकारले दिएको थियो ।  म्याग्दीको दानासम्म ल्याइएको खम्बा, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माणस्थलमा पु¥याएका थिए । लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघि नै विद्युतीकरण भएको थियो । 

प्रतिक्रिया दिनुहोस