काठमाडौं । रामेछापको ३ कृषि फर्मले वार्षिक ७४ लाखसम्म आम्दानी गर्ने गरेको पाइएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको बाग्मती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेनको तथाङकले यस्तो देखाएको हो । रामेछाप जिल्लामा व्यवसायिक कृषिको सम्भावनाबारे जानकारी हासिल गर्न स्थलगत अध्ययन सर्वेक्षण गरिएको थियो । परम्परागत कृषिको शैली परिवर्तन गरी स्थापना गरिएका कृषि फर्महरुमध्ये तीनवटा कृषि फर्महरुमा गरिएको स्थलगत अध्ययन सर्वेक्षणको आधारमा देहाय बमोजिमको विवरण तयार पारेको छ ।
रामेछाप जिल्ला ओखरेनी पुरानो गाउँमा रहेको कामना फलफूल बहुउद्देश्यिय नर्सरी फर्म त्यस क्षेत्रमा नमुना कृषि व्यवसायको रुपमा रहेको छ । यस फर्मको स्थापना वि.स. २०७० मा भएको हो । यस फर्मको स्थापनादेखि हालसम्मको लगानी ३० लाख रुपैयाँ रहेको छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको यस फर्ममा बाख्रा पालन, फलफुल खेति, फलफुलका विरुवा उत्पादन हुने गरेको तथाङकले देखाएको छ ।यस फर्ममा रहेका ३०० वटा जुनारका बोटबाट वार्षिक ४ लाख रुपैयाँ आम्दानी हुने गरेको छ भने वर्षिकरुपमा उत्पादन हुने ८००० विरुवाबाट १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।
यस फर्मका संचालकले जापानबाट प्राविधिक तालिम लिई आफ्नो व्यवसायमा सिकेको सीपको प्रयोग गरेको देखिन्छ । जरा कुहिएको विरुवालाई रुट ग्राफ्टिङ प्रविधि प्रयोग गरी बिरुवालाई पूनर्जीवन दिने कार्य नविन कार्यको रुपमा रहेको छ । प्लान्ट ग्राफटिङ प्रविधि प्रयोगद्वारा जुनारको बोटमा सुन्तलाको हाँगा तथा तिनपातेको जरा जस्ता मौलिक प्रयोग त्यस क्षेत्रका किसानको लागि उदाहरणीय कार्यको रुपमा रहेको छ । यस फर्मबाट उत्पादित विरुवा तामाकोसी सेवा समिति मार्फत विक्रि हुने गरेको छ ।
यसै गरी ओख्रेनी ४ मा रहेको प्रगतिशील बाख्रा तथा कृषि फर्मसमेत त्यस क्षेत्रमा नमुना कृषि व्यवसायको रुपमा रहेको छ । यस फर्मको स्थापना वि.स. २०७१ सालमा भएको हो । २५ रोपनी क्षेत्रफलमा फैलिएको यस व्यवसायमा बाख्रापालन, बंगुर पालन, तरकारी र जुनार खेती हुने गरेको छ । बार्षिक २५ लाखको कारोवार हुने यस फर्ममा हाल ३० वटा बोयर जातका बाख्रा, १० वटा माउ बंगुर, १ वटा भाले बंगुर र ७० वटा बंगुरका पाठा रहेका छन भने ६०४ वटा जुनारका रुख तथा ८००० बोट बन्दागोबी रहेका छन् ।
यस फर्मका सञ्चालकले उन्नत जातको बाख्रा उत्पादनका लागि अष्ट्रेलियाबाट ३ लाख पचास हजार रुपैयाँ लागतमा बोयर जातको बोका आयात गरी उन्नत जातका बाख्रा उत्पादन र विक्री गर्ने गरेका छन् ।फार्ममा ७ जनालाई रोजगारी प्रदान गरिएको छ । यस फर्मबाट २ वर्षमा ५ खेप बंगुरका पाठा उत्पादन गरी बिक्री हुने गर्दछ भने २ वर्षमा ३ खेप बाख्रा उत्पादन गरी विक्री हुने गर्दछ । ओख्रेनी गाउँका अधिकाँश किसान व्यवसायिक कृषि कार्यमा संलग्न भई जिवन यापन गरेको देखिन्छ भने स्थानीय सरकारले समेत किसानका यी प्रयासमा हातेमालो गर्दै प्राविधिक र आर्थिक सहयोग गर्दै आएको देखिन्छ ।
रामेछाप जिल्लाको मन्थली बजार यस्ता उत्पादनको मुख्य बजारको रुपमा रहेको छ । मन्थलीमा रहेका जुस उद्योगहरूले उत्पादित जुनार खरिद गर्ने गर्दछन भने मन्थलीमा रहेको होटल व्यवसायीले उत्पादित मासु खरिद गर्ने गर्दछन ।रामेछाप ७ का अर्का युवा किसानले मन्थली नगरपालिकाबाट करिब १ किलोमिटर पूर्वमा अवस्थित ५३ रोपनी जग्गामा बिहानी कृषि फर्ममा विभिन्न खालका तरकारी खेती गरेका छन् ।
कृषि डायरी, कृषि ऐन र विभिन्न कृषि सम्बन्धी सामग्रीहरुको अध्ययन गरी नविन कृषि प्रविधिमा अद्यावधिक रहने जानकार किसान श्रेष्ठले आफ्नो फर्ममा टनेलिङ र मल्चिङ जस्ता प्रबिधिको प्रयोग गरी बेमौसमी तरकारीको उत्पादन गरेका छन् ।
बिहानी तरकारी फार्मको नामले चिनिने उनको फार्ममा वार्षिक ३० देखि ३५ लाख सम्मको तरकारी बिक्री हुने गरेको छ । उनले यस फर्ममा १३ जनालाई रोजगारी प्रदान गरेका छन् । यस फर्मबाट रामेछाप आर्मी ब्यारेक, मन्थलीका होटलहरु र पसलहरुलाई तरकारी उपलब्ध हुदै आएको छ । स्थानीयहरूले पनि उक्त फार्मबाट उत्पादित रासायनिक बिषादी रहित तरकारी सेवन गर्न पाएका छन् ।
मुलुक संघीय संरचनामा गएपश्चात्स्थानीय सरकारले कृषि विकासको लागि शुरु लगानीमा ५० प्रतिशत अनुदान दिने, विरुवा वितरण गर्ने जस्ता कार्यहरुमार्फत कृषकलाई प्रोत्साहन गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषकलाई टहरा, गोठ निर्माणमा ५० प्रतिशतसम्म अनुदान दिने कार्य, कृषि बीमा तथा सहुलियतपुर्ण कृषि कर्जा कार्यक्रमबाट किसानहरु उत्साहित भएका छन् ।
कोभिड–१९ को कारण जुस उद्योग बन्द भएकोले जुनार बिक्न गाह्रो भएको, बन्दागोबिले बजार नपाएको, फार्मसम्म पुग्न सहज बाटो नभएको जस्ता समस्याहरू विद्यमान रहेतापनि कृषि क्षेत्रमा नयाँ तरिका अपनाई मनग्ये आय आर्जन गर्न सकिने सम्भावनाहरू पर्याप्त छन् ।
प्रतिक्रिया दिनुहोस