
एजेन्सी । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बलिउड फिल्ममा फेरि एकपटक संकटको बादल मडारिएको छ । ८३, आरआरआर र पृथ्वीराज जस्ता बिग बजेटका फिल्म आगामी दुई महिनामा रिलिज हुँदैछन् । यी फिल्मको वैदेशिक कमाई कम हुन सक्छ ।
तर, अहिले विदेशमा बलिउड फिल्मको सुटिङ चलिरहेका छन । टाइगर श्राफको ‘गणपत’को सुटिङ अहिले विदेशमा भइरहेकाले त्यहाँ छायांकनका नियम कडा भए पनि अहिले सुटिङ भइरहेका छन् । युरोपमा कोरोनाका बढ्दो केसका कारण फेरि लकडाउन जस्ता अवस्था सिर्जना भइरहेकाले त्यहाँ बलिउड फिल्मको व्यापार निकै कम रहन सक्नेछ ।
दीपावलीमा रिलिज भएको अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ ले विदेशमा ८० करोडको व्यापार गरेको छ । जसका कारण बाँकी निर्माताहरुले पनि राम्रो आम्दानी गर्ने आशा राखेका थिए तर अब यहाँको ब्यापारलाई नयाँ ढंगले सोच्नुपर्ने अवस्था छ ।
सूर्यवंशीले भारतमा १९० करोडभन्दा बढीको व्यापार गरेको छ । यसलाई बलिउडको ब्यापार पुनरुत्थानका रूपमा हेरिएको थियो तर कोरोनाको बढ्दो डरका कारण फिल्मले कत्तिको व्यापार गर्न सक्छन् भन्नेमा फेरि शंका उत्पन्न भएको छ । गत हप्ता रिलिज भएको सलमान खानको आखरी र जोन अब्राहमको सत्यमेव जयते २ ले पूरै सप्ताहन्तमा ३० करोडभन्दा कम कलेक्सन गरेको थियो ।
सूर्यवंशीले मात्रै पहिलो दिन २६ करोड कमाएको थियो । पछिल्ला ५ दिनदेखि जनतामा ओमिक्रोन भेरियन्टको डर पुनः सृजना भएको छ, जसका कारण सिनेमा हलहरूमा फेरि कडाइ हुनसक्छ । मानिसहरू जान पनि डराउनेछन्। यसले आगामी चलचित्रको व्यापारमा ठूलो असर पर्नेमा व्यवसायीहरु आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस