
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आइतवार नेप्सेमार्फत सुचना जारी गर्दै मंसिर १६ गते लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेको जानकारी दिएको हो ।
कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । सोही पूँजीको आधारमा कर समेत नगद लाभांश वितरणको तयारी कम्पनीले गरेको हो ।
बीमा समितिले लाभांश प्रस्ताव स्वीकृत गरेसँगै कम्पनीले वार्षिक साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीको मंसिर १७ गतेको सञ्चालक समितिको बैठकले पुस ११ गते अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा विहान ११ बजे चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित नगद लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ ।
चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी दुई सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस