
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि नेपाली उपभोक्ताबिच विद्युतीय उत्पादनप्रति रुचि बढेको छ । सरकारले समेत विद्युतीय सामग्रीको प्रयोग बढाउन विद्युत महसुलमा छुट लगायतका व्यवस्था गरेपछि उपभोक्तामा यस्तो रुचि बढेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन/इन्फारेट चुलोसम्मका सामग्रीमा सर्वसाधारणको बढी चासो देखिएको छ । नेपाल विद्युत प्राधिकरणले समेत विद्युतको आन्तरिक खपत बढाउन विभिन्न सहुलियतका कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा विद्युतीय सामग्रीमा रुचि बढ्नु स्वाभाविक हो ।
त्यसो त विसं. २०७२ सालमा भारतले गरेको नाकाबन्दीको बेला चीन सरकारले अनुदानमा दिएको चुलो खाद्य कम्पनीले बिक्री समेत गर्न सकेको थिएन । तर, लकडाउनको समयमा ती चुलोहरु खाद्यले बिक्री गर्यो ।
लकडाउन भएयता विद्युतीय चुलोको व्यापार बढेको व्यापारीहरू बताउँछन् । विद्युतीय चुलोको माग बढेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि १५ हजार इन्डक्सन चुलो खरिद गर्ने तयारी थालेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न लागेको इन्डक्सन चुलो तत्काल खरिद नगर्ने भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए अनुसार अहिले विगतको झैँ उच्च गुणस्तरको इन्डक्सन पाइएको छैन । न त त्यसको मूल्य नै सस्तो छ । उनले भने, ‘खाद्यले इन्डक्सन चुलो ल्याउने भनेका छौँ । तर, हामीले पहिलो बिक्री गरिरहेको जुन क्वालिटीको थियो त्यो पाइरहेका छैनौँ । महँगो मूल्य र क्वालिटीको समान नपाएका कारण चुलो खरिद गर्ने कार्यमा ढिलाइ भएको हो ।’
उनका अनुसार नेपालमा इन्डक्सन चुलो आयात हुने भनेको चीनबाट हो । कोरोनाका कारण चीनबाट ढुवानी गर्न सहज छैन । चीनको नाकाबाट पहिला ५०/१०० वटा कन्टेनर भित्रिने गर्थे । तर, अहिले दिनमा एक/दुई वटा मात्र भित्रिने गरेका छन् । जसले गर्दा हामीलाई खरिद मूल्य नै महँगो पर्ने भएको छ । चन्द भन्छन्, ‘पहिले हामीले बेचेको एउटा इन्डक्सनको मूल्य चार हजार रुपैयाँ थियो । तर, अहिले हामीले खरिद गर्यो भने नै एउटा चुलोको मूल्य नै १२ देखि १३ हजारसम्म पर्ने भयो । यस्तो महँगोमा ल्याएर बेचेर सम्भव नै भएन ।’
साथै, उनले खरिद नै महँगो पर्ने भएकाले तत्काल खाद्यले इन्डक्सन चुलो ल्याउन हिच्किचाएको समेत बताए । ‘महँगोमा खरिद गरेर जनसमक्ष महँगोमै प्रस्तुत गर्न हामीलाई उचित लागेन । हाम्रो मान्यता भनेको सस्तो र सुलभ मूल्यमा गुणस्तरीय समान उपलब्ध गराउनु हो । तर, अहिले ल्याउँदा खरिद नै महँगो पर्ने भयो त्यसमाथि हामीले पहिले बेचेको जस्तो क्वालिटीको पनि नपाइने भयो’, उनले भने, ‘यसले गर्दा अहिले तत्काल खरिद नगर्ने कि भन्नेमा छौँ । तर, हामी हेर्दै बुझ्दै गरेका छौँ । मूल्य सस्तो र राम्रो गुणस्तरको पाउने बित्तिकै ल्याएर बिक्री गछौँ ।’
प्रतिक्रिया दिनुहोस