एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई एयरपोर्टमा विदेश जानबाट रोकिएको थियो । उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन । ज्याकलिन फर्नान्डिजसँग २०० करोडको मनी लान्ड्रिङ मुद्दामा सोधपुछ भइरहेको छ । यो ठगी मुद्दामा फसेका सुकेश चन्द्रशेखरसँग सम्बन्धित रहेकाले उनलाई विदेश जानबाट रोकिएको हो । ज्याकलिनको विरुद्धमा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा लुकआउट सर्कुलर जारी गरिएको छ ।
ईडीका अनुसार ज्याकलिन सुकेश चन्द्रशेखरको तर्फबाट २०० करोड रुपैयाँ फिरौती मुद्दामा महत्वपूर्ण साक्षी उनी भएको बताइएको छ । सुकेश हाल दिल्लीको तिहाड जेलमा छन् । सुकेशले ज्याकलिनलाई धेरै महँगो उपहार दिएका छन् । त्यसमध्ये ९ लाख रुपैयाँको बिरालो पनि छ ।
मिडिया रिपोर्टका अनुसार सुकेश चन्द्रशेखरले सोधपुछका क्रममा ज्याकलिनलाई ५२ लाख रुपैयाँको एउटा घोडा र चारवटा पर्शियन बिरालो उपहार दिएको बताएका थिए । जसमध्ये एउटा बिरालोको मूल्य ९ लाख रुपैयाँ पर्छ । ईडीले ज्याकलिन र सुकेशको निकटता प्रमाणित गर्ने फोटो सहित धेरै प्रमाण फेला पारेको छ ।
ज्याकलिनलाई ईडीले अगस्टमा पनि सोधपुछ गरेको थियो। यस मुद्दामा सुकेश चन्द्रशेखर उनकी श्रीमती लीना मारिया पल र अन्य ६ जनाविरुद्ध ७ हजार पृष्ठको आरोपपत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस