
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्बौं रुपैयाँ बराबरको मोबाईल फोन आयात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक मसान्त)सम्म २० अर्ब ३५ करोड रुपैयाँ बराबरको २६ लाख मोबाइल सेट नेपाल भित्रिएको हो । जसबाट ३ अर्ब २२ करोड राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्म २१ लाख ९० हजार मोबाइल सेट नेपाल भित्रिएको थियो ।
नेपाली बजारमा ग्रे मार्केट समेत रहेकाले नेपालमा कति मोबाइल भित्रिन्छन् भन्ने तथ्यांक नभेटिने व्यवसायीहरु बताउँछन् । अहिले पनि नेपालमा विदेशबाट नेपाल आउँने नेपालीले ल्याउने गरेका मोबाइल सेटको तथ्यांक कहि पनि देखिदैन । त्यस्तै, २० प्रतिशत चोरीका मोबाईल सेटहरु भित्रिने गरेको नेपाल मोबाईल एसोसियसनका अध्यक्ष भरत भट्टराई बताउँछन् । उनी भन्छन्, ‘नेपाली बजारमा २० प्रतिशत मोबाईल सेटहरु भन्सार छलेर भित्रिएका छन् । नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन् । तीमध्ये भारत लगायत खाडी मुलुकबाट र अमेरिकन युरोपियन मुलुकबाट फोनहरुको अवैध आयात हुने गरेको छ ।’
साथै उनले खुल्ला सिमानाका कारण मोबाईलहरुको अवैध आयात हुने भएकोले सिमामा कडाई गरिनु पर्ने समेत बताए । उनले भने, ‘भारतसँग खुला सिमाना भएका कारण तराई क्षेत्रमा धेरैजसो अवैध मोबाईल आयात हुन्छन् । फोनको अवैध आयातका कारण मोबाईल व्यवसायीलाई मात्र नभएर राज्यलाई समेत असर गरिरहेको छ ।’
उनका अनुसार पछिल्लो समय स्मार्ट फोन प्रयोगकर्ता बढ्दै गएका छन् । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ । नेपाली बजारमा मोबाईल फोनको व्यापार समग्रमा राम्रो रहेको उनको भनाई छ । अध्यक्ष भट्टराई भन्छन्, ‘नेपाली बजारमा मोबाईल फोनको व्यापार राम्रो छ । नेपालभर दैनिक एक करोडदेखि डेढ करोडसम्मको मोबाईल फोनको कारोबार हुन्छ ।’
त्यस्तै, उनले नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ ब्राण्डका मोबाईल फोन बिक्री हुने गरेको जानकारी दिए । उनले भने, ‘पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने नेपाली बजारमा सबैभन्दा बढी एमआई र रियलमी ब्राण्डका फोनहरु बिक्री भएका छन् ।’ साथै उनले नेपालमा १५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका मोबाईल सेटहरु सबैभन्दा बढी ब्रिकी हुने गरेको पनि जानकारी दिए ।
साउनदेखि लागू भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले पनि विदेशबाट भित्रिने मोबाइलमा तत्कालै प्रभाव नदेखिएको उनको भनाइ छ । उनले भने, ‘बाहिरबाट आउनेहरूले अहिले पनि मोबाइल ल्याइरहेका छन् । यसरी आउने फोन नियन्त्रण गर्ने एप खासै कार्यान्वयन भएको छैन ।’ साथै साउनदेखि लागू भएको मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम ईएमआई सिस्टम अनिवार्य दर्ता पश्चात एमडिएमएस तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस