
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग एक लाख ५० क्वीन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । कम्पनीले आफूसँग एक लाख ६० हजार ७५७ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेको जनाएको हो ।
कम्पनीका अनुसार सुगम जिल्लाहरुमा चामल मौज्दात ९० हजार ७४२ दशमलव ३० क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ भने २४ दुर्गम जिल्लाहरुमा १७ हजार १५६ दशमलव ५ क्वीन्टल,कूल चामल मौज्दात एक लाख ७ हजार ८९८ दशमलव ३५ क्वीन्टल, धान मौज्दात ४४ हजार ४५८ दशमलव ३६ क्वीन्टल र गहुँ ८ हजार ४ सय दशमलव ९६ क्वीन्टल मौज्दात रहेको छ ।
त्यस्तै, कम्पनीले ५० हजार ७९३ दशमलव ९८० क्वीन्टल खाद्यान्न विक्री गरिसकेको जनाएको छ । जसमा सुगम जिल्लाहरुमा २९ हजार ५५७ दशमलव ७५ क्विीन्टल विक्री गरेको छ भने २४ दुर्गम जिल्लाहरुमा २१ हजार २३६ दशमलव २३ क्वीन्टल खाद्यान्न विक्री गरेको कम्पनीले जनाएको छ ।
सहूलियत मूल्यका पसल माघ २ गतेसम्म सञ्चालन हुने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वको अवसर पारेर असोज १ गतेदेखि सञ्चालनमा ल्याएको सहुलियत मूल्यका पसल माघसम्म सञ्चालन गर्ने भएको छ । कम्पनीले माघी पर्वको अवसरलाई मध्यनजर गर्दै हाल सञ्चालनमा रहेका सहुलियत मूल्यका पसल आगामी माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
कम्पनीले जनाए अनुसार चाडपर्वको अवसरमा काठमाडौं उपत्यका लगायत कम्पनीका जिल्ला स्थित कार्यालयहरु मार्फत असोज १ गतेदेखि सञ्चालन भइरहेको सहुलियत मूल्यका पसलहरु माघी पर्वलाई समेत मध्येनजर गरि आगामी माघ २ गतेसम्म सञ्चालन गरिनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले नेपालीहरुको महान पर्व माघी पनि रहेकोले यसैलाई मध्यनजर गरेर माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘हामीले दर्शैदेखि नै ३९ जिल्लामा ४५ वटा आउटलेट मार्फत सहुलियत पसलहरु सञ्चालन गरिरहेका छौँ । उक्त पसल आगामी माघ २ गतेसम्म सञ्चालन गर्नेछौँ ।’
उनका अनुसार पश्चिम र तराईवासीहरुले माघी पर्वलाई विशेषगरि धुमधामले मनाउने गर्छन । यसैले गर्दा सबैलाई समेट्ने उद्देश्यले यो निर्णय गरिएको हो । उनले भने, ‘जनतालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध होस भनेर सहूलियत पसलहरु सञ्चालन गरिरहेका छौं । यसअघि दशैं, तिहार र छठ सम्मसलाई सिमित हुन्थ्यो तर, यसपालि हामीले माघ २ गतेसम्म सञ्चालन गर्नेछौँ ।’
प्रतिक्रिया दिनुहोस