
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाभित्र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्न कम्पनीहरु लागि परेका छन् । यसबेलासम्म धेरै जसो कम्पनीहरुले वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् भने कतिपयले सम्पन्न समेत गरिसकेका छन् । चालू आर्थिक वर्षको तीन महिनाभित्र वार्षिक लेखापरिक्षण सम्पन्न गरी ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने अवस्थामा कम्पनीहरु वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा जुटेका हुन ।
यस वर्ष सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला गत वर्षको वार्षिक साधारण सभा सिजर्नी पावर डेभलपमेण्ट लिमिटेडले सम्पन्न गरेको थियो । यस कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा सम्पन गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
यस वर्ष सूचीकृत कम्पनीहरुमध्य ५० भन्दा बढी कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् भने अझै दुई दर्जन भन्दा बढी कम्पनीहरुले साधारण सभाको मिति तय गरेका छन् । यो मंसिर महिनामा मात्र २० कम्पनीहरुले वार्षिक साधारण सभाको मिति तय गरेका थिए । यी मध्य अझै ११ कम्पनीहरुले बार्षिक साधारण सभा गर्न बाँकी छ । बैंक अफ काठमाण्डू, मेगा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित ११ कम्पनीहरुले मंसिर महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गर्न लागेका हुन । चालू आर्थिक वर्षदेखि शेयर लगानीकर्ताहरुलाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरिएको छ ।
३६५ दिनसम्म शेयर कायम राख्ने लगानीकर्ताहरुलाई दिर्घकालिन र सोभन्दा कम समय शेयर कायम गर्ने लगानीकर्ताहरुलाई अल्पकालिन लगानीकर्ताको उपनाम दिई पूँजीगत लाभकर पनि फरक फरक कायम गरिएको छ । अल्कालिन लगानीकर्ताहरुको लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुका लागि ५ प्रतिशत पूँजीगत लाभाकर कायम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस