काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १९ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २३ गतेको सञ्चालक समितिको बैठकले होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको छ । सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष सम्मको मुनाफाबाट कुल १३ दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ छ ।
यस वर्ष कम्पनीले अघिल्ला पाँच आर्थिक वर्षको भन्दा बढी लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०६८÷६९ को मुनाफाबाट कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष ०७१÷७२ देखिको लाभांश इतिहासलाई हेर्ने हो भने कम्पनीले बढीमा १२ दशमलव ६३ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस