
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते प्रस्तावित कुल २२ दशमलव ६३ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीको मंसिर २३ गतेको सञ्चालक समितिको बैठकले त्यस दिन नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल पोखरा ग्राण्ड , पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको यस वर्षको लाभांश विगत तीन आर्थिक वर्षपछिकै उच्च रहेको छ । आर्थिक वर्ष ०७४/७५ मा कुल १५ दशमलव ७८ प्रतिशत, आर्थिक वर्ष ०७५/७६ मा कुल १२ दशमलव ६३ प्रतिशत र आर्थिक वर्ष ०७६/७७ मा कुल २० प्रतिशत कम्पनीले लाभांश वितरण गरेको थियो । यस अघि आर्थिक वर्ष ०७२/७३ मा भने कम्पनीले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यी प्रस्तावसँगै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस