aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चिलिमे जलविद्युतको साधारण सभा पुस २३ गते, के पारित गर्दै छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
चिलिमे जलविद्युतको साधारण सभा पुस २३ गते, के पारित गर्दै छ

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २३ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान ११ बजे सभा गर्ने तयारी भएको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चु्क्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । सोही पू्ँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

साधारण उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको  आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८÷६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस