aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वीरगञ्जमा सात हजार मेट्रिक टन मल अलपत्र, मगाउने कम्पनी नै भन्छन्–‘हाम्रो होइन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
वीरगञ्जमा सात हजार मेट्रिक टन मल अलपत्र, मगाउने कम्पनी नै भन्छन्–‘हाम्रो होइन’

काठमाडौं । नेपाली किसानहरूको सधैँ बल्झिरहने घाउको रूपमा रहेको रासायनिक मल (डिएपी) वीरगन्जको सुक्खा बन्दरगाहमा ७ हजार मेट्रिक टन भन्दा बढी अस्तव्यस्त अवस्थामा रहेको छ । उक्त मल त्यहाँको गोदाम, रेलको लिक वरपर र भन्सार परिसरको जङ्गल क्षेत्रमा यत्रतत्र फालिएको अवस्थामा छ । 

आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङ र कृषी सामाग्री कम्पनीले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेका थिए । दुबै कम्पनीले बोलपत्रका माध्यमद्वारा झिकाएको मल भिजेर कालो डल्ला परेको अवस्थामा नै बन्दरगाहमा आइपुगेको वीरगञ्ज भन्सारको भनाई छ ।      

नेपाल इन्टर मोडेल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले २०७७ असोज १८ गते आइपुगेको ४६ हजार बोरा मल र भदौ पहिलो साता आइपुगेको ५० हजार बोरा रासायनिक मल (डिएपी) भिजेर बिग्रेको बताए । जोशीले भने, ‘साल्ट ट्रेडिङ लिमिटेड कृषी सामाग्रीले दुई वर्षअघि बोलपत्रका माध्यमद्वारा झिकाएको मल हो, यो । यहाँ ७ हजार मेट्रिक टन भन्दा बढी मल छ । बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको थियो । भिजेर गुणस्तर घटेकोले भन्सार जाँच पास हुन सकेन ।’    

त्यस्तै, उनले भिजेको मलको गुणस्तरमा प्रश्न उठेपछि यसको जाँच पास हुन नसकेको समेत बताए । उनले भने, ‘उक्त दुई कम्पनीले झिकाएको रासायनिक मल आउँदा नै भिजेर आएका थियो । जसले गर्दा गुणस्तर नभएकाले जाँच पास हुन सकेन । गोदाममा सामानको चाप भएकाले भन्सार परिसरको खाली ठाउँमा मल राखिएको हो ।’    

उक्त परिणामको मल त्यसै फाल्न सकिने अवस्थामा नरहेको समेत उनको भनाई छ । शाखा अधिकृत जोशी भन्छन्, ‘यो मल भिजेका कारण यसको गुणस्तर खस्केको छ । त्यसै फाल्न सकिने अवस्था पनि छैन ।’ 

यता, साल्ट ट्रेडिङ लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झा भने भन्सारमा अलपत्र रहेको मलको स्वामित्व आफूहरूसँग नरहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले मल आयात गर्नका लागि बोलपत्र मार्फत कम्पनी छनौट गरी मलको आपूर्ति गर्नलाई जिम्मा दिएका हौँ । तर, उक्त कम्पनीले बोलपत्रमा भए बमोजिमको मल हाम्रो गोदामसम्म ल्याई पुर्याएन । हामीसँग आई नपुगेको मललाई हामीले हाम्रो भन्न मिल्दैन ।’ 

त्यस्तै, कृषी सामाग्री केन्द्र लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले एक वर्ष अघि नै मगाइएको उक्त मल भारतमा आएको आँधीका कारण गुणस्तर खस्किएको अवस्थामा भन्सार विन्दुमा आइपुगेको बताए । उनले भने, ‘आपूर्तिकर्ताले ल्याएको मल गुणस्तर खस्किएको देखेपछि भन्सार विभागले जाँचपास गराइदिएन । भन्सार पास नभएका कारण उक्त परिणामको मल हाम्रा गोदामहरूमा आई नपुगेको हो ।’ 

आधिका कारण उक्त मल भिजेर गुणस्तर खस्किएपछि सो मलको सदुपयोग कसरी गर्ने भनेर भन्सार विभाग र मल आपूर्तिकर्ताबिच छलफल समेत भएको उनले बताए । उनले भने, ‘मलको गुणस्तर खस्किएको देखेपछि आपूर्तिकर्ता र मल मगाएका हामी दुबै कम्पनीले मललाई कम मूल्यमा वा अन्य कुनै उपाय अपनाएर सदुपयोग गर्न पहल गरेका थियौँ । तर, भन्सारले मलको जाँचपास नै गरिदिएन । त्यसैले यो विषय टुङ्गो लाग्न सकेन ।’ 

ठूलो परिणामको मल भन्सार विन्दुमा नै अलपत्र परेको विषय संसदीय समितिसम्म पुगेको छ । यो विषय अब संसदीय समितिले छानबिन गरेर टुङ्ग्याउने प्रवक्ता पोखरेलको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस