
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आएका छन् । दुई भैँसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आएका छन् । “सुरुमा दुई भैँसीबाट व्यवसाय सुरु गरेकी हुँ”, उनले भने, “भैँसीको दूध बिक्रीबाट आम्दानी भएको पैसालाई फर्ममा थप गर्नुका साथै भैँसीको पनि सङ्ख्या थप गरेकी हुँ ।” उनका फर्ममा अहिले आठ दुहुना भैँसी छन् । दुई थपेर दश पुर्याउने तयारीमा उनी छन् ।
“आफ्नै सुरले भैँसी पाल्दै आएकी थिएँ, महिलाले सञ्चालन गरेको फर्मलाई केही सुविधा हुन्छ भन्ने सुनेर फर्म दर्ता गरेर चलाएकी हुँ”, उहाँले भन्नुभयो, “म एक्लैले भैँसी पाल्न थालेपछि गाउँलेले नसक्ने काम किन गरेकी होला ? भन्थे आज मेरो सफलता देखेर ठीक व्यवसाय हैछ भन्न थालेका छन् ।” कतिपय महिला दिदीबहिनी गफ लाएर कुराकानी गरेरै समय बिताउने गरे पनि आफूलाई भने गफ लाउन र कसैको जान नि फुर्सद नहुने उनी बताउँछन् । श्रीमान्, दुई छोरीहरु विदेश र छोराले पनि पढ्दै जागीर गर्ने गरेको उनले सुनाए ।
“श्रीमान्ले भैँसी पाल्न दुःख हुन्छ, सकिँदैन नपाल भनेर गाली गर्नुहुन्छ”, व्यवसायिअर्यालले भने, “आफूले पैसा कमाउन सके आफैँ बलियो भइने, आत्मनिर्भर हुनुका साथै सन्तुष्टि मिल्ने भएकाले पनि व्यावसायिकरुपमा भैँसी पाल्दै आएकी हुँ ।” श्रीमान् विदेश जानासाथै छोराछोरी लिएर सहर पस्ने र बसेरै खाने परिपाटी नेपाली ग्रामीण समाजमा बढ्दै गइरहेका बेला उनी नमूना महिला छन् । आफैँले कमाएको पैसाले घर खर्च चलाउनुका साथै भैँसी खरीद, घाँस, दाना खरिदसँगै केही रकम बचत गर्दै आएको उनले बताए ।
“कुनै पनि काम सानो ठूलो हुँदैन, तर जुन काम गरिन्छ त्यसमा ध्यान दिएर मेहेनतका साथ गर्नुपर्छ तबमात्रै सफल भइन्छ”, उनले भने, “मैले कमाएको पैसाले घरखर्चसहित अन्य खर्च तथा लगानी गरेकी छु, श्रीमान्ले विदेशबाट पठाएको पैसाजस्ताको तस्तै राखिदिएकी छु, चलाउनुपरेको छैन ।” उनले हालसम्म रु १५ लाख लगानी गरेका छन् । दूध, घ्यू तथा मल बिक्रीबाट मासिक रु एक लाख बढी आम्दानी गर्छन् । उनको फर्मबाट उत्पादन भएको दूध नजिकैको त्रियासी बजार तथा वालिङमा खपत हुने गरेको छ । दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ भने प्रतिलिटर दूध रु ७० देखि ९० सम्म बिक्री हुन्छ । रासस
प्रतिक्रिया दिनुहोस