aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

विद्युतीय सवारीमा समेत इतिहास दोहोरिने चिन्ता, किन आउँदै छ आयातकर्तामा विचलन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
विद्युतीय सवारीमा समेत इतिहास दोहोरिने चिन्ता, किन आउँदै छ आयातकर्तामा विचलन ?

काठमाडौँ।  नेपालमा विद्युतीय सवारी साधन प्रति आम उपभोक्ताको चासो बढिरहेको छ।  तर, यसै बेला धेरै व्यापारी तथा उपभोक्ताका सामु बढ्दै गएको चुनौतीपूर्ण जोखिमबारे भने धेरैले ध्यान नै दिइरहेका छैनन्। त्यो जोखिम हो, बिक्रीपछिको सेवा (आफ्टर सेल सर्भिस) नै प्रवाह गर्न तथा प्राप्त हुन नसक्ने अवस्था। 

नेपाली बजारमा हालसम्म ठुलो हिस्सा ओगटेका विद्युतीय सवारी अधिकांश चीनमा बनेका हुन्। तुलनात्मक रूपमा सस्तो मूल्यमा पाइने ती चिनियाँ गाडी तथा स्कुटरहरूको गुणस्तर आम रूपमा चर्चा हुने गरेजस्तो कमजोर भने छैन। तथापि नेपाली उपभोक्ताले सस्तो मूल्यका गुणस्तरीय चिनियाँ विद्युतीय सवारी साधनको उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था देखा पर्दै छ। 

नेपाली बजारमा अहिलेसम्म चिनियाँ विद्युतीय सवारी साधन आयात गरेर बिक्री गर्ने अधिकांश आयातकर्ता वा बिक्रेताहरू अटो सेक्टरका व्यवसायीक  घरानाका रूपमा परिचितहरू छैनन्। जसले गर्दा उनीहरूको बजारमा प्रतिस्पर्धात्मक क्षमता त कमजोर छ नै त्यसमाथि नेपाली बजारमा दशकौँ देखी अटो सेक्टर बिजनेसमा दबदबा राख्दै आएका व्यापारिक समूहहरूले सङ्गठित रूपमा ती साना व्यापारीलाई गर्न सक्ने सुनियोजित 'व्यावसायिक आक्रमण' थेग्न सक्ने सम्भावना त झन् छँदै छैन। 

यस्तो टिप्पणीको प्रमुख आधार के हो भने हालै मात्र ठुला पाँच गाडी आयातकर्ताहरूले विद्युतीय सवारीको व्यापारमा आपसी सहकार्य गर्ने बैठक सम्पन्न गरे।  त्यस्तो बैठकको अन्तर्य भनेको विद्युतीय सवारीमा समेत आफूहरूको एकाधिकार कायम गर्ने योजनाको निर्माण रहेको सो बैठकबारेको टिप्पणीकर्ताले गरिरहेका छन्। यसरी एकातिर ठुला व्यापारीले आफ्ना परम्परागत ब्रान्ड र विश्व बजारका चर्चित विद्युतीय सवारीले नेपाली सडक ढाक्ने योजना निर्माण गरेपछि धेरै साना व्यापारी र चिनियाँ सवारी आयातकर्तामा समेत चिन्ता थपिएको छ।  

पहिले देखि नै नेपालका सडकमा गुडिरहेका साना चार पाङ्ग्रे सवारी तथा बाइक र स्कुटरका बिक्रेताहरूले आफ्ना विद्युतीय सवारी भित्राउने बित्तिकै चिनियाँ ब्रान्डका सवारी माथि दबाब पर्ने पक्का छ। यसरी थेग्नै नसक्ने दबाबपछि चिनियाँ उत्पादन आयातकर्ताहरू व्यापारबाट विस्थापित हुनेछन्।  परिणाम स्वरूप चिनियाँ विद्युतीय सवारी साधन प्रयोगकर्ताहरू त्यस्ता सवारीका स्पेयर पार्ट देखी नियमित सेवा र सुविधाबाट समेत वञ्चित हुने र जे जता समयसम्म त्यस्ता सवारीको उपभोग गर्न पाउनु पर्ने हो त्यो नपाउने अवस्थामा पुग्ने स्थिति देखा पर्दै छ। 

यस्तो आशङ्का किन पनि गरिएको हो भने नेपालमा सार्वजनिक यातायातमा समेत नयाँ युगको थालनी गर्ने श्रेय पाएको सुन्दर यातायात समेत पछिल्ला दिनमा चीनबाट अर्कै तर्फ मोडिएको देखिएको छ। 

सुन्दरमा विचलन किन ?

नेपालमा सार्वजनिक यातायातको रूपमा विद्युतीय बस भित्राएर त्यसको व्यावसायिक सञ्चालन गर्दै आएको कम्पनी हो, सुन्दर यातायात। यो कम्पनीले सुरुमा चीनमा उत्पादित विद्युतीय बस नेपाल भित्राएको थियो।  तर, ती चिनियाँ बसमा उच्च गुणस्तर र चित्तबुझ्दो सेवा प्राप्त गरिरहेको अवस्थामा सुन्दर यातायातले जर्मन प्रविधिका नयाँ २० वटा बस आयात गरेको छ। हाल भन्सार जांचपासको क्रममा रहेका ती बस चिनियाँ बस भन्दा निकै महँगा छन्। 

चिनियाँ बसबाट तपाईँहरू सन्तुष्ट नै हुनुहुन्थ्यो तर किन जर्मनका महँगा बस भित्राउँदै हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापा भन्छन्, "नयाँ ल्याएको मात्र हो।  चिनियाँ नराम्रो भएर उता सरेको होइन।" तर, करिब एक करोड ६० लाखमा एउटा चिनियाँ बस आउने भए पनि जर्मन बस भने प्रतिगोटा दुई करोड २५ लाखको हाराहारीमा भित्राउन लागिएको भने उनले स्वीकारे। 

विद्युतीय सवारी पनि भरपर्दो हुन्छ भन्ने कुरा नेपाली समाजमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुन्दर यातायातले चिनियाँ विद्युतीय सवारीको गुणस्तर प्रति समेत भरोसा  र विश्वास स्थापित गर्दैथ्यो। तर, एकाएक बसमा मात्र होइन सुन्दरले स्कुटर समेत भारतीय उत्पादन भित्राएको छ। जबकि भारतमा उत्पादित स्कुटरहरू चिनियाँ भन्दा धेरै नै महँगा छन्। तर, गुणस्तरमा भने खासै अन्तर छैन। यो कुरा समेत थापा स्विकार्छन्।  उनी भन्छन्, "चिनियाँ स्कुटर सवा लाखमा बेच्न सकिन्छ तर भारतीयलाई भने अढाई लाख पर्छ। हुनलाई दुवै उस्तै हुन्।"

त्यसो त सुन्दर यातायातले नेपालमा सुलभ मूल्यका गुणस्तरीय विद्युतीय सवारीलाई स्थापित गर्ने प्रयत्न नगरेको भने होइन। थापा आफूले गरेका सकारात्मक प्रयास असफल भएकोमा भने निराश छन्।  उनी भन्छन्, "हामीले सबैलाई मिलेर काम गरौँ। नेपालमा सबै खालका विद्युतीय सवारी ल्याउने र टिकाउने वातावरण निर्माण गरौँ भनेर सामूहिक सहकार्यको प्रयत्न गर्‍यौँ। तर, व्यापारी बिच नै बुझाइमा एकरूपता आउँन सकेन।" त्यसो त विद्युतीय सवारी मैत्री नीति निर्माणमा पहलकदमी लिने काममा समेत सुन्दर यातायात अगाडी छ। तर, सर्वपक्षीय हितका कुरा गर्दा समेत ठुला व्यापारीबाट आफूहरूले साथ नपाएकोमा  भने उनी समेत खुसी छैनन्।   

फेरि पनि अनुत्तरित प्रश्न यो हो कि नेपालमा विद्युतीय सवारीलाई नयाँ ढङ्गले स्थापित गर्ने सुन्दर यातायातमा समेत यस्तो विचलन किन आयो ? नेपालीलाई सुलभ मूल्यमा स्तरीय सेवा र उत्पादनसम्मको पहुँच पुर्‍याउने यो निजी कम्पनी किन आफ्नो आधारभूत मान्यतामा अड्न सकिरहेको छैन। सुलभ मूल्यका चार पाङ्ग्रे निजी सवारी समेत नेपालमा भित्राएर आम नेपालीलाई विद्युतीय सवारीप्रति आकर्षित गर्ने यसको उद्देश्यमा अरू मुलुकका उत्पादन बेच्दा हुने बढी नाफाको लोभ छिर्‍यो वा अन्य कारण छन् भन्ने चाहिँ खोजीको विषय नै बनेको छ। 

त्रासमा व्यापारी, मारमा उपभोक्ता 

नेपालमा एक दशक भन्दा अघि पनि यस्ता भएको थियो। केही चिनियाँ मोटर साइकलको आयात र केहीको त एसेम्ब्लिंग समेत सुरु भएको थियो। तर, भारतमा उत्पादन भएका मोटरसाइकलका व्यापारीले यति धेरै चलखेल गरे कि अन्ततः चिनियाँ मोटरसाइकलको आयातकर्ताले व्यापार नै छाडे।  जे जति मात्रामा चिनियाँ मोटरसाइकल यहाँ बिक्री भएका थिए ती उपभोक्ताले त्यसको पार्टपुर्जा र सर्भिसिंग नै नपाउने अवस्था बन्यो।  फलतः निकै त्यस्ता उच्च गुणस्तरको चिनियाँ मोटरसाइकल पूर्ण रूपमा नेपालबाट विस्थापित मात्र भएनन् आम नेपालीमा चिनियाँ सवारी भन्ने बित्तिकै नाक खुम्च्याउने प्रवृत्ति बढ्यो। फेरी एक पटक त्यही इतिहास दोहोर्‍याउने प्रयत्न भइरहेको छ। 

अहिले जे जस्ता चिनियाँ विद्युतीय सवारी बजारमा पाइन्छन् तिनको गुणस्तरबाट ग्राहक सन्तुष्ट छन्।  तर, सुलभ मूल्यका चिनियाँ उत्पादन माथि धावा बोल्ने केही कसरतहरू भइरहेको देखिंदैछ।  परम्परागत घरानाहरू विद्युतीय सवारीमा समेत आफ्नो आधिपत्य कायम राख्ने योजनाका साथ अघि बढ्ने सङ्केत गरिरहेका छन्।  नीति निर्माता देखी विज्ञापन बजारलाई समेत प्रभावित पार्ने यस्ता शक्तिशाली व्यापारीको अगाडी नेपालमा सस्ता तर गुणस्तरीय सवारी भित्राउने साना आयातकर्ता निरीह बन्नुपर्ने अवस्था आउँदै छ। 

हाल चिनियाँ विद्युतीय स्कुटर आयात गरेर बिक्री गर्दै आएका एक व्यवसायीले आफूहरूले ठुला र घरानियाँ गाडी व्यापारीको त्यस्तो योजनाबारे सुनेको बताए।  उनले आफ्ना ग्राहक पो अभर पर्ने हुन् कि भन्ने चिन्ता समेत व्यक्त गरे।  उनले भने, "विगत ७ वर्षदेखि सबै प्रकारका विद्युतीय स्कुटर लाएर बेच्दै छौँ।  सस्तो छ र भरपर्दो पनि। ग्राहकहरू समेत खुसी हुनहुन्छ।  तर, यदि हामीले नै व्यापार छोड्नु पर्ने दिन आयो भने ग्राहकलाई पो कसरी सेवा दिने। चिन्ता बढेको छ।"

उता अहिले बजारमा निकै चलेको एक भारतीय कम्पनीको विद्युतीय स्कुटरका आयातकर्ताले समेत चिनियाँ उत्पादन सस्तो र राम्रो हुँदाहुँदै पनि भारतीय उत्पादन नै बेच्नुका पछाडि केही बाध्यकारी कारण रहेको बताए। उनले चिनियाँ उत्पादनको सट्टा भारतीय उत्पादनको व्यापार गर्दा हुने सहजताको धेरै पक्षबारे बोले तर आफ्नो नाम उल्लेख नगर्ने सर्तमा। 

फेरी पनि नेपाली नागरिकले सुलभ मूल्यमा गुणस्तरीय उत्पादनको उपभोगको आधिकार नै कुण्ठित हुने अवस्था नेपालमा किन बन्दै छ भन्ने प्रश्न अहम् बनेको छ।  अझ केही दृढतापूर्वक नेपाली उपभोक्ताको हित रक्षा गर्छौँ भनेर लागेका व्यापारी समेतमा विचलनको कारण के हो त्यसको जवाफ त झन् अपरिहार्य देखिएको छ।  

प्रतिक्रिया दिनुहोस