aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भूकम्पले भत्काएकामध्ये ३ लाख ८२ हजार घर बने, २ लाख ३० हजार बन्दै, अब ४२९ अर्ब चाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
भूकम्पले भत्काएकामध्ये ३ लाख ८२ हजार घर बने, २ लाख ३० हजार बन्दै, अब ४२९ अर्ब चाहिने

काठमाडौं, वैशाख १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल भएको दाबी गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न भएका छन् भने ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेका छन् । 

भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएका छन् । जसमध्ये ५९ प्रतिशत अर्थात ४ हजार ४७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । 

त्यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धिमध्ये जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न भएको भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् । 

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धि हासिल गरेका छौं, जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । 
सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१  वटा भवन पुनर्निर्माणको क्रममा छन् ।

सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धिमध्ये ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

 पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रकमको आंकलन गरिएको थियो । जसमध्ये आर्थिक वर्ष २०७४÷७५ सम्म १८६ अर्ब रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्षमा१२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको छ । 

यस्तै गरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव २०० अर्ब परिचालन हुने अपेक्षा गरिएको छ । जसका कारण पुनर्निर्माण सम्पन्न गर्न थप करिब ४२९ अर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस