
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार कम्पनीको शेयरमुल्य बढेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा शून्य दशमलव ७७ प्रतिशत अर्थात प्रतिकित्ता १० ले बढेको हो । १ हजार ३२६ मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम १ हजार ३०७ सम्म झरेको थियो भने अधिकतम १ हजार ३५२ सम्म झरेको थियो ।
सोमवार कम्पनीको ३ करोड ५४ लाख ८७ हजार बराबरको २६ हजार ८७६ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो काराबार दिनको भन्दा यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन कम्पनीको ४४ लाख ८४ हजार बराबरको ३ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो ।
कम्पनीले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँँजी ९४ करोड ३० लाखको आधारमा १९ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि पुस ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कम्पनीको लाभांश प्राप्त गर्न र सभामा लिनका लागि पुस ५ गत सोमवारसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस