aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

समानुपातिकरूपमा मल वितरणको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
समानुपातिकरूपमा मल वितरणको तयारी

वीरगञ्ज । पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।

स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।  

वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि तीन हजार ४३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई एक हजार ६६४ बोरा, पोखरिया नगरपालिकालाई एक हजार ३४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै जगरनाथपुर गाउँपालिकालाई एक हजार ६६४ बोरा, जिराभवानीलाई एक हजार ४२८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई एक हजार ७१४, धोबिनीलाई एक हजार ४००, छिपहरमाईलाई  एक हजार ८८, पकाह मैनपुरलाई ८२० र कालिकामाई गाउँपालिकालाई  ७७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस