
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले शतप्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको मुनाफाबाट ७५ प्रतिशत बोनस शेयर र कर समेत २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७७ लाख २ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले शतप्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष पनि कम्पनीले शतप्रतिशत लाभांशनै वितरण गरेको थियो । गत वर्ष ५० प्रतिशत बोनस शेयर र कर समेत ५० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस शेयरमा जोड दिएको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, पर्सा, विरगन्जमा विहान १० बजे सभा बोलाएको हो । सभा प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. २१ करोड १२ लाख ८१ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष खुद नाफा १२ दशमलव ७० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १८ करोड ७४ लाख ६८ हजार खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफा करिब १२ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. २६ करोड ४८ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २९ करोड ६५ लाख २७ हजार यो नाफा गरेको हो ।
कम्पनीको कुल सञ्चालन नाफा करिब १८ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ३७ करोड ८७ लाख ७८ हजार कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ६८ लाख ५६ हजार कुल सञ्चालन आम्दानी गरेको हो । जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ५६ दशमलव २७ प्रतिशत बढी रू. १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ९७ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २५५ दशमलव ३७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस