aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासनको तयारी गरेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस ८ गते बिहीवार अन्तिम दिन रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाईसकेको कम्पनीले निष्कासनको मिति भने तय गरेको छैन् । 

साउन १५ गते बोर्डमा २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले मंसिर २९ गते अनुमति पाएको हो । हकप्रद शेयर निष्कासनको लागि मिति तय नगरेको कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएकाले बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । यस अघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । 

कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी बृद्धि गर्न लागेको हो ।  

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. २६ लाख ५२ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ४७ लाख ४५ हजार रहेको थियो । कम्पनीको शेयर प्रिमियममा रू. १ करोड १२ लाख ५१ हजार र जगेडा कोषमा रू. १० करोड ५५ लाख ४ हजार रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ४३ करोड ६९ लाख ८६ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ३१ करोड ९८ लाख ४६  हजार कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. १ दशमलव ९४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४७ छ । 
 

प्रतिक्रिया दिनुहोस