कावासोती । केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा माछापालन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएपछि माछापालन गर्ने क्षेत्रमा समेत वृद्धि हुँदै गएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ माछा पोखरीको क्षेत्रफल दुई सय १० हेक्टर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा माछापालन हुँदै आएको क्षेत्रफल १८१ हेक्टर रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपुरका सूचना अधिकारी डा शर्मिला कुमालले बताए । “माछापालनका लागि नवलपुर प्रदेशकै अग्रणी जिल्लाको रुपमा रहेको छ”, उनले भने, “पछिल्लो समय माछाको उत्पादन वृद्धिका लागि प्रदेश सरकारले माछापालनको क्षेत्रफल विस्तारका लागि विशेष चासो दिँदै आएको छ ।” यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड १७ लाख वजेट विनियोजन गरेको सूचना अधिकारी कुमालले बताए । ५० प्रतिशत अनुदानमा नयाँ माछा पोखरी खन्नका लागि मात्रै प्रदेश सरकारले रु ५० लाख वजेट विनियोजन गरेको उनको भनाइ छ ।
यस योजनाबाट जिल्लामा थप १० हेक्टर क्षेत्रफलमा माछा पोखरी थपिने उनले बताए । पुराना पोखरी मर्मत, मत्स्य भूरा नर्सरी कार्यक्रम, मत्स्य उपकरण तथा सामाग्रीमा सहयोगलगायतका कार्यक्रम चालू आर्थिक वर्षमा समेत सञ्चालन हुने सूचना अधिकारी कुमालले बताए । यसले जिल्लामा माछापालन व्यवसायमा वृद्धि हुने उनको भनाइ छ । “प्रदेश सरकारले माछापालनका लागि लगानी बढाएको छ, विभिन्न कार्यक्रम सञ्चालन गरी किसानलाई अनुदान दिँदै छ”, सूचना अधिकारी कुमालले भने, “यसले नवलपुरमा माछाको उत्पादन थप बढाउने विश्वास छ ।”
माछाको माग बढेसँगै राम्रो आम्दानी आउन थालेपछि व्यावसायिक माछा पालना गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । यससँगै भारतीय माछामा निर्भर जिल्लामा केही वर्षयता बर्सेनि आयात समेत घट्दै गएको कृषि कार्यालयले जनाएको छ । पाँच वर्ष अघि ८० प्रतिशत भारतीय माछाको बजार रहेको जिल्लामा अहिले ३० प्रतिशतमा झरेको छ । बर्सेनि १५ देखि २० प्रतिशतसम्म आयात प्रतिस्थापन घटेको माछापालक कृषक बताउँछन् ।
नवलपुरमा अहिले ७०८ वटा माछा पोखरी रहेका छन् । नवलपुरमा मध्यविन्दु, कावासोती, देवचुलीमा सबैभन्दा धेरै माछापालन गर्ने गरिएको छ । गण्डकी प्रदेश सरकारले यस क्षेत्रलाई समेटेर यसवर्षदेखि माछा ब्लक कार्यक्रमसमेत सञ्चालन गर्न लागेको सूचना अधिकारी कुमालको भनाइ छ । गतवर्ष जिल्लामा एक हजार ३७० मेट्रिक टन माछा उत्पादन भएको थियो । तीमध्ये १२२ मेट्रिक टन माछा प्राकृतिक जलाशयमा उत्पादन भएको थियो । यो वर्ष माछा उत्पादन थप बढ्ने अुनमान गरिएको सूचना अधिकारी कुमालले जानकारी दिए । जिल्लालाई आवश्यकपर्ने माछा उत्पादन भएको र अन्य जिल्लामा समेत निर्यात हुने गरेको उनले बताए । “जिल्लाको आवश्यकता र माग अनुसार माछा उत्पादन भएको छ, माछामा जिल्ला आत्मनिर्भर छ”, सूचना अधिकारी कुमालले भने ।
कृषि क्षेत्रअन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढी हुने भएकाले पनि माछापालनतर्फ किसानको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ । सरकारले विभिन्न अनुदान र सुविधा प्रदान गर्दासमेत जिल्लाका किसान माछापालनतर्फ आकर्षित हुने गरेका छन् । मध्यवर्ती क्षेत्र भएकाले अन्यबाली वन्यजन्तुले नोक्सान पु¥याउने तर माछापालन सुरक्षित हुने भएकाले समेत यसतर्फ किसानको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस