aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘जलविद्युतमा लगानी, बालुवामा पानी’ हुने त होइन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
‘जलविद्युतमा लगानी, बालुवामा पानी’ हुने त होइन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले  जलविद्युत्मा लगानी गर्न आम जनतालाई आग्रह गरे ।  हरेक नेपालीलाई जलविद्युत्को शेयरधनी बनाउने उद्घोषसमेत गरेका छन। तर, प्रधानमन्त्री ओलीले भनेजस्तै हरेक नेपालीलाई जलविद्युत्को शेयरधनी बनाउँदैमा उनीहरुको जीवनस्तर उठ्ने र सुखी नेपाली हुने निश्चित छ त रु पक्कैपनि छैन् ।

 अहिलेसम्म (केही अपवादबाहेक) जलविद्युत् कम्पनीको शेयर खरिद गरेका सर्वसाधारण नागरिक नोक्सानीमा छन र हलचल गर्न सक्ने अवस्थामा छैनन् । अहिले पनि नेपाल स्टकएक्चेन्ज (नेप्से) मा सूचीकृत अधिकांश जलविद्युत् कम्पनीको शेयरको मूल्य सय रुपैयाँभन्दा तल छ । सर्वसाधारणले मुरी रोपेर मानो त परैको कुरा भयो मुठी पनि फलाउन सकेका छैनन् ।

सर्वसाधारणले सय रुपैयाँमा किनेको शेयर वर्षौंपछि अहिले ६३ रुपैयाँमा समेत बिक्री गर्नुपर्ने अवस्था छ । त्यो पनि लगानीकर्ताले आफूलाई आवश्यक परेको बेलामा तुरुन्तै बिक्री गर्न सकेका छैनन् ।

लगानीकर्ताले ब्याजको त के कुरा साँवा पनि गुमाउन पुगेका छन् । नेसनल हाइडोपावर कम्पनीको कुरा गरौं । बिहीबार उक्त कम्पनीको शेयर प्रतिकित्ता ६३ रुपैयाँमा कारोबार हुन पुग्यो । सिनर्जी पावरको ८७ रुपैयाँ, रिडी हाइडोको ९३ रुपैयाँ, रैराङ हाइडो पावरको ९७ रुपैयाँ, खानीखोला हाइडो पावरको ७९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, दिव्यश्वरी हाइडोपावरको ९४ रुपैयाँ, छयाङ्दी हाइडोपावरको १०० रुपैयाँ, बरुण हाइडोपावरको ९४ रुपैयाँ, आँखुखोला जलविद्युत्को ८१ रुपैयाँमा बिहीबार किनबेच भएको छ ।

प्रधानमन्त्रीले भनेझै हरेक नेपालीलाई जलविद्युत्को शेयरधनी बनाउँदैमा सुखी हुनै सक्दैनन् । हुने भए त अहिलेसम्म जलविद्युत् आयोजनामा लगानी गर्नेहरु सुखी हुनुपर्ने हो नि रु बरु किन जलविद्युत्को शेयर खरिद गरिएछ भन्नेमा दुःखी छन् ।

जलविद्युत्को शेयर खरिद गर्नुको साटो अन्य कम्पनीको शेयर खरिद गरेको भए लाभांश त पाइथ्यो । जलविद्युत् आयोजनाको शेयर खरिद गरेर लाभांशको कुरा त परै जाओस साँवा पनि डुब्ने स्थिति बनेको छ ।

यस्तो हुनुमा नियमन निकायको अभाव भएको बिज्ञहरुको भनाइ छ । संस्थापक लगानीकर्ताहरु बेलुन झै मोटाउँदै जाने र सर्वसाधारण लगानीकर्ता कुपोषण लागेको रोगीजस्तै हुनुपर्ने अवस्था छ । 

जलविद्युत् आयोजना निर्माण पूरा हुने बेलासम्म संस्थापक शेयरधनीले आफ्नो लगानी उठाइसकेका हुन्छन् । संस्थापकले आयोजनामा लाग्ने सामान खरिदमा बजार मूल्यभन्दा दोब्बर तेब्बर बढीको बिल बनाउँछन् र फाइदा लिन्छन् । तर, सर्वसाधारण लगानीकर्ता भने घ्यु निकालेको महीमा पर्छन् । उनीहरु त्यही मोहीमा घ्यु बन्छ कि भन्ने आशामा हुन्छन् ।

यस्तो चर्तुयाईपूर्ण खेलले गर्दा सर्वसाधारण जलविद्युत् आयोजनाको शेयर खरिद गर्न हच्किन थालेका छन् । अहिले युनिभर्सल पावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर तोकिएको समयमा बिक्री नहुनुको कारण पनि त्यही हो । उक्त कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर माघ २९ गतेसम्म बिक्री नभएपछि फागुन २६ सम्म खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । त्यो समयमा पनि बिक्री हुने सम्भावना देखिएको छैन ।

सरकारले बिहीबार मात्र सार्वजनिक गरेको १९ आयोजना स्थिति पनि अहिले सूचीकृत कम्पनी जुन न्यून मूल्यमा शेयर किनबेच भएको छ, ती जलविद्युत् कम्पनीको भन्दा फरक हुने छाँटकाट छैन । सरकारले छनोट गरेका ती जलविद्युत् कम्पनीको न कुनै अध्ययन न त कहिलेसम्म निर्माण सम्पन्न हुने, कति लागत लाग्ने भन्ने बारेमा विस्तृत अध्ययन हुन सकेको छ ।

राम्रा आयोजनाहरु झोलामा खोला हालिसकेपछि बाँकी बचेका काम नलाग्ने आयोजनामा मात्र हरेक नेपालीलाई जलविद्युत् शेयरधनी बनाउने योजना सरकारले बनाएको छ । यस्ता आयोजनामा लगानी गर्नु भनेको बालुवामा पानी हाले सरह हो ।

प्रतिक्रिया दिनुहोस