काठमाडौं । यस वर्ष धान उत्पादनमा कमी आएको छ । आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले यस वर्ष धान उत्पादन ८.७४ प्रतिशतले घटेको जनाएको हो ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा नेपालको कूल धान उत्पादन गत आर्थिक वर्षको तुलनामा ८.७४ प्रतिशतले कमि आई ५१ लाख ३० हजार मेट्रिक टन हुने अनुमान गरिएको छ ।
विगत पाँच वर्षमा भएका उत्पादनका अङ्कसँग तुलना गर्दा हालसम्मकै यो न्यून हो । गत आर्थिक वर्षको तुलनामा धान बाली लगाएको क्षेत्रफलमा करिब चार हजार हेक्टरको सामान्य वृद्धि हुन आएको छ । साथै उत्पादकत्वमा ९.०९ प्रतिशतले ह्रास आई ३.४७ मेट्रिक टन प्रति हेक्टर कायम भएको अनुमान गरिएको छ । यस वर्षको उत्पादकत्व पनि विगत पाँच वर्षको उत्पादनको तुलनामा न्यून हो ।
यस वर्ष परेको हावाहुरीसहितको अप्रत्याशित वर्षाले मुख्यरुपमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको ठूलो क्षतिले समग्र राष्ट्रिय धान उत्पादनमा कमि आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशगतरुपमा गत आवको तुलनामा गण्डकी प्रदेश बाहेकमा धान उत्पादन वृद्धि ऋणात्मक रहन गएको हो भने सुदूरपश्चिममा ३१.४८ प्रतिशत र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतको उच्च गिरावट हुन आएको छ । चैते धानको उत्पादकत्व गत आवको तुलनामा ०.३२ प्रतिशतले वृद्धि हुन आई ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम हुन आएको छ ।
प्रतिक्रिया दिनुहोस