काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको तिनकुने, काठमाडौं स्थित आफ्नै कार्यालयको पाँचौ तलाको हलमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
साथै धादिङ्ग जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगगढीमा रहेको चुनढुङ्गा भण्डारणको उत्खनन कार्याका लागि रू. १५ करोड एक लाख मा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट भएको निर्णय बमोजिम खानी खरिद गरिएको हुँदा सो निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ । सभामा उपस्थितिका लागि विहान ८ बजेदेखिनै हाजिरी पूस्तिका खुला रहने जानकारी कम्पनीले गराएको छ ।
यस अघि कम्पनीले गत असार १० गते विशेष साधारण सभा सम्पन्न गरी २० प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीले रू. ३ अर्ब ४० करोड चुक्तापूँजीको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
सभाले संस्थापक तर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारण तर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ । कम्पनीले गत वर्षको माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट पनि आईपीओ विक्रीको प्रस्ताव पारित गरेको थियो । आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आईपीओ सर्र्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो ।
आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ । व्यवसायिक उत्पादन सुरु गरेपछिनै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा बार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस