aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस २० गते मंगलवार अन्तिम दिन रहेको छ । निष्कासनको मिति हालसम्म तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने पुस २१ गतेका लागि तय गरेको हो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १ गते कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रकृयामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । 

विद्युत नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस