aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचआईडिसीएलको अवितरित संस्थापक तर्फको हकप्रद विक्रीका लागि नियमावली संशोधन गरिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
एचआईडिसीएलको अवितरित संस्थापक तर्फको हकप्रद विक्रीका लागि नियमावली संशोधन गरिदै

काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी (एचआईडिसीएल) ले वितरण हुन नसकेको संस्थापक तर्फको हकप्रद शेयर विक्रीका लागि नियमावली संशोधन गर्ने भएको छ । कम्पनीले पुस २२ गते आव्हान गरेको दशौं वार्षिक साधारण सभामार्फत नियमावलीमा रहेको संस्थापक शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक करोड कित्ताको सीमालाई संशोधन गर्न लागेको हो ।

 कम्पनीको नियमावलीको दफा १० मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै कम्पनीको संस्थापक शेयरधनी हुनका लागि न्यूनतम एक करोड कित्ता शेयर हुनुपर्ने तर, कम्पनी संस्थापना भएपश्चात संस्थापक समूहको शेयर खरिद गर्ने शेयरधनीहरुको हकमा सो सीमा लागू नहुने व्यवस्था गर्न लागेको हो । 

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

 उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

त्यस अवधिमा संस्थापक तर्फका ३ करोड ३० लाख कित्ता शेयरमा भने आवेदनमा लगाईएको न्यूनतम कित्ताको सीमाकै कारण वितरण हुन सकेको थिएन । यो बाहेकका अन्य वितरण भएको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर भने कम्पनीले बाँडफाँट पश्चात कात्तिक २५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराईसकेको छ । 

यस वर्ष कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजीको अधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत कम्पनीले पुस २२ गते हुने सभा मार्फतनै पारित गर्दैछ ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ३७ करोड ७० लाख २७ हजार छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस